काठमाडौं । उपत्यका भित्र विकासको नाममा भईरहको भूमि अतिक्रमणविरुद्ध शुक्रवार राजधानीमा व्यापक विरोध प्रदर्शन गरिएको छ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, काठमाडौको आव्हानमा उपत्यका भित्रका सरोकारवाला र स्थानीयहरुको ठुलो संख्यामा भेला भई विरोध प्रदर्शन गरिएको मोर्चाको जिल्ला अध्यक्ष नमस्ते सायमीले जानकारी दिए ।
काठमाडौंको असन बजारबाट सुरु भएको बृहत ¥याली कोर सिटी भित्रका त्यौड, ज्याँठा, ठमेल– छायाँदेवी कम्पलेक्स, भगवनाबहाल, ठमेल, क्षेत्रपाटी, भेडासिंह हुँदै इन्द्रोचोकमा गएर कोणसभा परिणत भएको थियो ।
सो कोणसभालाई मुक्ति मोर्चाका केन्द्रिय सदस्य पवनमान श्रेष्ठले सम्बोधन गर्दै विकासको नाममा उपत्यकाको भुमि दोहन भईरहेको जसले विकास हैन यहाँको सम्पदा, संस्कृतिको विनाश गरिरहेको बताए ।
उनले भूति अक्रिमण विरुद्ध आगामी दिनमा झनै कडा संघर्षका कार्यक्रमहरु ल्याउने चेतावनी दिदै भने, ‘ सरकारको प्राथमिकता परेको बाहिरी चक्रपथ निर्माण भएको खण्डमा ३ लाख खेतीयोग्य जमिन अतिक्रण हुन्छ, जसको यहाँका उपत्यका वासी आदीवासी नेवार समुदायमा पर्नेछ ।’
विकास र समृद्धिको नाममा सरकारले भूमिबाट नेवाः समुदायलाई विस्थापित गर्ने षड्यन्त्र गरिरहेको श्रेष्ठको आरोप थियो ।
त्यसैगरी कार्यक्रमलाई नेवाः अधिकारका अगुवा डा. महेशमान श्रेष्ठले उपत्यकामा हाल भईरहेको गतिविधी उपत्यकावासी नेवारहरुको विरुद्ध भईरहेको बताए ।
विकासको नाममा स्थानीयवासीहरु प्रताडित हुनु परेकोले यस्ता कार्य रोक्न सरकासँग उनले माग गरेका छन ।
बाहिरी चक्रपथ, स्मार्ट सिटी, फास्टट्रयाक, सुखा बन्दरगाह निर्माण तथा सडक विस्तारको नाममा उपत्यकाका नेवारहरुको आदि भूमि, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदालगायत कला संस्कृति झल्कने, मठ, मन्दिर मासिँदे गईरहेको सन्दर्भमा मोर्चाले सरकारलाई दवाव दिन यो विरोध प्रदर्शन गरेको मोर्चा जिल्ला अध्यक्ष सायमीले बताए ।
त्यसैगरी मिनि ठमेलको उपनाम पाएको छायाँदेवी कम्पलेक्सले सार्वजनिक महत्व बोकेको कमल पोखरी गैरकानुनी रुपमा अतिक्रमण गरेको भन्दै सो को पनि विरोध गरिएको थियो ।
१३ रोपनीमा फैलिएको सो कमलपोखरीले नेवारहरुको विशेष साँस्कृतिक तथा धार्मिक महत्व बोकेको मोर्चाले जनाएको छ ।
मोर्चा जिल्ला अध्यक्ष सायमीले सञ्चालन गरेको सो कार्यक्रममा मोर्चाका नेताहरु शिव श्रेष्ठ र गोर्की श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय