काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि राजधानी काठमाडौंमा पार्टीका नेता–कार्यकर्ता र समर्थकहरू सडकमा उत्रिएका छन ।
पक्राउको विरोधमा शनिबार दिनभर विभिन्न स्थानमा प्रदर्शन, नाराबाजी र झडपका घटनाहरू भएका छन ।
प्रदर्शनको मुख्य केन्द्र माइतीघर मण्डला, बबरमहल र नयाँ बानेश्वर क्षेत्र बनेका छन ।
ठूलो संख्यामा जम्मा भएका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए । त्यसपछि ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।
प्रदर्शनकारीहरू माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दा नेपाल प्रहरी ले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि रोकेपछि अवस्था तनावग्रस्त बनेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल तथा झडप भएको छ ।
यसैबीच, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु ले पनि विरोध प्रदर्शन गरेको छ । रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीहरूले टायर बालेर प्रदर्शन गरेका थिए, जसलाई प्रहरीले पुगेर नियन्त्रणमा लिएको थियो ।
ललितपुरको च्यासलमा एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।
पक्राउ लगत्तै एमाले नेताहरूले आन्दोलनमा उत्रने चेतावनी दिएका थिए। त्यसअनुसार अहिले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीहरूले “प्रतिशोधपूर्ण राजनीति बन्द गर” जस्ता नारा लगाइरहेका छन्।
हाल स्थिति केही स्थानमा अझै तनावग्रस्त रहेको छ भने सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ ।
Categorized in राष्ट्रिय