काठमाडौं । जिल्ला अदालत सिरहाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।
अदालतका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्पक्षका लागि कारागार पठाएको हो ।
प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवानद्वय यादव र मण्डलले विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट गरेको प्रहरी अनुसन्धान सिवीआई बाट खुलेको थियो ।
प्रहरी जवान ब्रम्हदेवले प्रश्नपत्र मोवाईलबाट खिचेर ईमेलमा आफ्ना दाजु बिष्णुलाई पठाएपछि प्रश्नपत्र आउट भएको थियो ।
त्यसैगरी प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही रु एक लाख ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालले आदेश गरेको छ ।
राजविराज नगरपालिका–१६ निवासी शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही रु एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ ।
Categorized in समाज