८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमालेमा अब तीन तहको संरचना प्रस्ताव, विद्यादेवी भण्डारीको पार्टीमा सक्रियाता बारे पनि छलफल


प्रकाशित: शुक्रवार, २ साउन २०८२, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले पार्टी संरचना, पदाधिकारीको संख्या र विधान संशोधनका महत्वपूर्ण निर्णयहरू गर्दै पार्टीभित्र व्यापक परिवर्तनको संकेत दिएको छ । 


अबदेखि पार्टीमा सचिवालय नरहने र स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहका मात्र संरचना रहने निर्णय गरिएको हो । 


पार्टी उपाध्यक्ष गुरु बरालका अनुसार सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना कायम गर्ने निर्णय गरेको छ । 


अध्यक्ष, महासचिव र उपमहासचिव एक/एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति बनाइएको छ ।


यसै बैठकमा लामो समयदेखि चर्चामा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा सम्बन्धी व्यवस्थाहरू पनि हटाइएको छ । 


विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले ११ जना पदाधिकारीको प्रस्ताव गरे पनि नेताहरूको सुझावपछि १५ मा पुर्‍याइएको हो ।

 
अब प्रस्तावित विधान संशोधन अनुसार एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुने छ । हालको ९९ सदस्यीय पोलिटब्युरो घटाएर नयाँ पोलिटब्युरो ८३ सदस्यीय बनाइने निर्णय गरिएको छ ।

 
१५ सदस्यीय पदाधिकारीहरूलाई नै स्थायी कमिटीको रूपमा मान्ने निर्णय सर्वसम्मतिले पारित भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


ज्ञवालीका अनुसार राष्ट्रिय महाधिवेशनमा भाग लिने केन्द्रीय सदस्यहरू स्वतः प्रतिनिधिका रूपमा रहनेछन् भने नयाँ थपिएका सदस्यहरू आयोजकको हैसियतमा मात्र सहभागी हुनेछन । 


विद्या भण्डारीको सक्रियता विषय प्रवेशमा


बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पुनरागमनबारे पनि विषय प्रवेश भएको छ । 


अध्यक्ष केपी शर्मा ओलीको पहलमा भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणालाई सचिवालयले औपचारिक विषयको रूपमा प्रवेश गराएको हो ।


सचिवालय सदस्य योगेश भट्टराईले भने, “उहाँले सार्वजनिक रुपमा बोलेपछि यो व्यक्तिगत होइन, पार्टीको मामिला बनिसकेको छ । यसबारे गम्भीर छलफल हुनुपर्नेछ ।” 


पार्टीले पूर्वराष्ट्रपतिलाई उचित जिम्मेवारी दिने र सम्मानजनक स्थान दिने विषयमा पनि विचार भइरहेको छ।


सचिवालय निर्णयको अनुमोदन आज पोलिटब्युरोमा


सचिवालयको सबै निर्णयहरू आज दिउँसो १ बजे बस्ने पोलिटब्युरो बैठकमा अनुमोदन गरिनेछ भने आगामी ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा थप प्रस्तावहरू पेश गरिनेछन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex