काठमाडौं । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली पक्राउ परेपछि सडक आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो आन्दोलनको रणनीति परिवर्तन गरेको छ ।
अब पार्टीले प्रत्यक्ष सडक प्रदर्शनभन्दा संगठन सुदृढीकरण र कमिटी भेलामार्फत जनपरिचालनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले वडा तहसम्मका कमिटीहरू सक्रिय बनाउँदै चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो ।
बैठकपछि पार्टी सचिव महेश बस्नेत ले दिएको जानकारीअनुसार चैत २५ गते जिल्ला भेला आयोजना गरिनेछ ।
त्यसैगरी चैत २८ गते देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते ६ हजार ७४३ वटा कमिटीहरूको भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गरिनेछ भने वैशाख १२ गते काठमाडौं उपत्यकास्तरीय भेला तथा प्रदर्शनको तयारी गरिएको छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई गत शनिबार निवासबाटै पक्राउ गरिएको थियो ।
उनलाई गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा लापरवाहीपूर्वक मानिसको ज्यान गएको अभियोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।
ओलीको पक्राउलाई एमालेले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विरोध जनाउँदै आएको छ ।
प्रारम्भिक चरणमा सडक आन्दोलनलाई तीव्र बनाउने प्रयास गरिए पनि अपेक्षित जनसहभागिता नदेखिएपछि पार्टीले संगठनात्मक सुदृढीकरणमार्फत् शक्ति संकलन गर्ने रणनीति अपनाएको हो ।
यसअघि एमाले निकट जनसंगठनहरूले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइसकेका छन ।
केन्द्रीय नेताहरूको उपस्थितिमा काठमाडौंको माइतीघर मण्डला मा विरोध प्रदर्शनसमेत गरिएको थियो ।
Categorized in राष्ट्रिय