६ भाद्र २०८३, शनिबार
Header

एनपीएल दोस्रो संस्करणका तयारी पूरा, उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुने


प्रकाशित: शनिवार, २९ कात्तिक २०८२, १७ः४५ बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

 
क्यानले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मंसिर १ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भइसकेको बताइएको हो । 


यसपटक पहिलोपटक एनपीएलका खेलहरू फ्लडलाइटमा आयोजना हुनेछन ।

 
क्यानका सचिव पारस खड्काका अनुसार पहिलो संस्करण सफल भएको अनुभवलाई अझ प्रभावकारी बनाउन डे–नाइट म्याचसमेत समावेश गरिएको हो । 


पहिलो संस्करणकै पुरस्कार राशि कायम


क्यानले दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै पुरस्कार राशि कायम राखेको छ ।

 
पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँसहित उपाधि जितेको थियो ।  उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख प्राप्त गरेका थिए ।


४० करोड आम्दानीको लक्ष्य


क्यानले यस संस्करणबाट करिब ४० करोड रुपैयाँ उठाउने लक्ष्य बनाएको छ ।


क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार १५–३० करोड रुपैयाँ प्रायोजकबाट मात्र उठ्ने अपेक्षा छ ।

 
उनका अनुसार टिम ओनरबाट ९ करोड रुपैयाँ, डिस होम गोले ५ करोड ३० लाख रुपैयाँमा डिजिटल प्रसारण अधिकार लिएको छ ।


डिजिटल आम्दानीको मोडेलअनुसार संसारभरिबाट उठ्ने आम्दानीमध्ये ७१ प्रतिशत हिस्सा क्यानको रहनेछ भने २९ प्रतिशत डिसहोमको हुनेछ ।


यस्तै, लीनियर टिभी प्रसारण अधिकार पनि शुक्रबार नै फाइनल भएको क्यानले जनाएको छ । 


उक्त अधिकारको न्यूनतम मूल्य एक करोड रुपैयाँ तोकिएको छ । टिकट बिक्रीबाट मात्र ८ देखि १२ करोड रुपैयाँसम्म संकलन हुने अनुमान क्यानले गरेको छ ।


८ फ्रेन्चाइज टोली सहभागी


प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी हुनेछन ।  सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन । केही खेलाडी नेपाल आइपुगेका छन भने बाँकी क्रमशः आउनेछन । 
उद्घाटन खेल मंसिर १ गते


एनपीएल दोस्रो संस्करणको उद्घाटन खेल मंसिर १ गते अपराह्न ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । 


उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex