काठमाडौं । आजबाट सिद्धार्थ बैंक नेपाल प्रिमिअर लीग (एनपीएल) त्रिविको क्रिकेट मैदानमा सुरु भएको छ ।
एनपिएलको पहिलो खेलमा अनिल साहको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर किङ्ग्सलाई ८ विकेटले हराएको छ ।
कीर्तिपुरस्थित रङ्गशालामा खचाखच दर्शकका माझ खेलिएको खेलको पहिलो इनिङ्समा टस हारेको विराटनगरले ब्याटिङ गरेको थियो। न्यूजील्यान्डका मार्टिन गुप्टिलको सर्वाधिक ५५ रनको मद्दतमा उसले १९ ओभरमा जम्मा १२७ रन जोड्दा टीम अल आउट भयो ।
जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिएका थिए ।
जबाफ पछ्याउँदै जनकपुरले १५.३ ओभरमा लक्ष्य भेट्यायो। उसका लागि श्रीलङ्काली मूलका अमेरिकी ब्याटर लाहिरु मिलान्थाले अविजित ७५ सर्वाधिक रन बनाए ।
शनिबार मध्याह्न सवा १२ बजेदेखि एनपिएल खेल सुरु भएको हो । उद्घाटन खेलका लागि तीन दिन अघि नै सबै टिकट बिक्री भइसकेको थियो।
टिकट नपाउनेहरू मैदान बाहिर अग्लो ठाउँमा बसेर र वरपरका रूखमा चढेर पनि क्रिकेट हेरिरहेका दृश्य देखिन्छ ।
एनपिएल विजेताले १ करोड १० लाख पाउने
एनपिएलको विजेताले एक करोड १० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) उदघाटनको क्रममा खेल विजेताको पुरस्कार एक करोड ११ लाख पाउने घोषणा गरेको हो । प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलाई २० लाख रूपैयाँ प्रदान गरिनेछ ।
यसअघि अखिल नेपाल फुटबल संघले एक पटक राष्ट्रिय लिगको विजेता थ्री स्टारलाई १ करोड पुरस्कार दिएको थियो ।
एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल मैदान बाहिर झडप
कीर्तिपुरस्थित त्रिवि मैदान बाहिर प्रहरी र दर्शकबीच झडप भएको हो । मैदानमा विराटनगर र जनपुर बोल्ट्सबीच खेल भइरहँदा बाहिर प्रहरी र क्रिकेट हेर्न आएका दर्शकहरूबीच झडप भएको हो।
केही दर्शकहरू गेटबाट जबरजस्ती भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएपछि प्रहरीले लाठीचार्ज नै गरेको थियो ।
कीर्तिपुरमा शनिबार ठूलो संख्यामा मानिसहरू उपस्थित भएपछि प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन कठिन भइरहेको छ ।
केही दर्शकहरूले टिकट लिइसकेको अवस्थामा पनि मैदान प्रवेश गर्न नपाएको बताउँदै विवाद गरेका थिए ।
बाइकको हेल्मेट राखेवापात ५० रुपियाँ शुल्क
मैदान बाहिर दर्शकहरूले आफ्नो हेल्मेट ५० रूपैयाँ तिरेर राखेका छन । सुरक्षित राख्न पैसा तिरेर राखेको खेल हेर्न आएकाहरले बताएका कछन । कोहीले साना व्यापारीलाई राख्न दिएका छन् भने कोहीले हेल्मेट राख्ने व्यापार गरिरहेका छन्।
खेल हेर्न विद्यार्थीलाई ५० प्रतिशत छुट
त्रिभुवन विश्वविद्यालमा अध्ययनरत विद्यार्थीहरूले एनपिएल को टिकटमा पचास प्रतिशत छुट पाउने भएका छन्।
विद्यार्थीहरूलाई साधारणतर्फको टिकटमा पचास प्रतिशत छुट दिने सहमति भएको नेपाल क्रिकेट संघले जनाएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्ति अनुसार क्यान र त्रिविबीच भएको सम्झौताबमोजिम हाल कामय गरिएको साधारणतर्फको टिकट खरिदमा त्रिविका विद्यार्थीहरूका लागि पचास प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
Categorized in मनोरन्जन