काठमाडौं । निर्वाचन आयोगले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरेको जनाएको छ ।
शुक्रबार पत्रकारसँग कुराकानी गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै निर्वाचन क्षेत्रबाट कारबाहीसम्बन्धी प्रतिवेदन आयोगमा प्राप्त भएको जानकारी दिए ।
“पूरा १६५ निर्वाचन क्षेत्रमा एक हजार वटा कारबाही गरेको रिपोर्ट आयोगमा आएको छ,” भण्डारीले भने, “यसका अतिरिक्त कसैले आचारसंहिता उल्लंघन गरेमा स्पष्टीकरण सोधेर फाइल विश्लेषण गरी निर्णय गरिन्छ ।”
उनका अनुसार आचारसंहिता उल्लंघनका विषयमा आयोगले सजायमुखी निर्णयसमेत गरिरहेको छ ।
निर्वाचन हुनुअघि परेका सबै उजुरीहरूमा यही महिनाको २० गतेभित्र निर्णय गरिसक्ने लक्ष्य आयोगले राखेको भण्डारीले स्पष्ट पारे ।
Categorized in राष्ट्रिय