११ बैशाख २०८१, मंगलबार
Header

एक विश्व सम्पदा स्थलबाट अर्को विश्व सम्पदा स्थलमा पैदल यात्रा गर्नेले सौभाग्यशाली महसुुुस गर्नेछन्् ।



–डिल्ली रत्न तुलाधर, 
सचिव, विश्व सम्पदा उत्सव मूल समारोह समिति
विश्व सम्पदा दिवसको अवसर पारेर तपाईंहरुले विश्व सम्पदा उत्सव मूल समारोह समिति गठन गरी वैशाख २ गतेदेखि विविध कार्यक्रम गर्नुभएको छ । खासमा यो कार्यक्रम के कस्तो हो र यसको उद्देश्य के हो? 
– काठमाडौं उपत्यका यस्तो क्षेत्र हो जहाँ संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनद्वारा सूचीकृत ८ वटा विश्व सम्पदा स्थलहरु रहेका छन् । यसमा हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, चाँगु नारायण र बुढानीलकण्ठ रहेका छन् । अझ विश्व सम्पदा स्थलहरु नजिककै दूरीमा रहनु काठमाडौंको अर्को विशेषता रहेको छ । जस्तो पशुपतिबाट बौद्ध र हनुमानढोकाबाट स्वयम्भू । तसर्थ युनेस्कोले सिङ्गो काठमाडौं उपत्यकालाई नै एउटा विश्व सम्पदा क्षेत्रको रूपमा लिएको छ । 
नेपालको पर्यटन प्रबद्र्धनमा उपत्यकाका यी साँस्कृतिक सम्पदाहरुको विशेष महत्व रहेको छ नै । त्यसमाथि पनि सिर्जनात्मक ढङ्गले सोची लाग्ने हो भने आफैँलाई अचम्मित लाग्ने यथार्थहरु भेटिन्छन् । यी तथ्यहरु विदेशी पर्यटकहरुका लागि मात्र नभई स्वदेशी वा आन्तरिक पर्यटकहरुका लागि पनि नयाँ स्वाद दिने, आल्हादित बनाउने र गौरवानुभूति प्रदान गर्ने खालका छन् । साथै पर्यटन प्रबद्र्धन भए पछि स्थानीय बासिन्दाहरु समेत पर्यटनआधारित व्यवसायमा आकर्षित भई आम्दानी गर्न सकिने र त्यस पछि सम्पदा संरक्षणको विषय भावानात्मक रूपले मात्र कुराकानी विषय बनिरहेकोमा ठोस रूपमा स्थानीय पहलहरु पनि हुन सक्नेछन् । 
यस्तै यस्तो सम्भावनाहरुलाई दोहन गर्ने उद्देश्यले नै हामीले एक विश्व सम्पदा स्थल हनुमानढोका देखि लिएर अर्को विश्वसम्पदा स्थल स्वयम्भूसम्मको पदयात्रा मार्ग तय गरी प्रबद्र्धन गर्न यो कार्यक्रमको आयोजना गरेका हौँ । 
अहिलेसम्म के के कार्यक्रम सम्पन्न भए र अब के कार्यक्रम बाँकी छ? 
वैशाख २ गते बिहान काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा स्थानीय जनतासम्मिलित सरसफाइ कार्यक्रमको आयोजना भयो । यस सम्पदा पदयात्रा मार्ग निर्धारण गर्न अवलोकन भ्रमणमा जाने क्रममा स्थानीय बासिन्दाहरुले कार्यक्रमबारे सुनेर उत्साहित भएको र साथसाथै गल्लीहरुमा फोहरमैलाको समस्यालाई प्रमुखताका साथ उठाएको हुँदा हामीले सुरुमै यो कार्यक्रम राखेका हौँ । 
त्यस्तै गरी दास्रो दिन वैशाख ३ गते सयौँ विद्यार्थीहरुको सहभागितामा विद्यार्थी हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । यसका साथै विद्यार्थीहरुद्वारा सम्पदा झल्कने चित्रहरु सहितको वाल पेन्टिङ्ग भएको छ । वाल पेन्टिङ्गको संयोजन सुष्मा राजभण्डारीले गर्नुभएको छ । 
त्यसै गरी वैशाख ४ गते विहानैदेखि विभिन्न खेलका कार्यक्रमहरु भइरहेका छन् । यसमा साइक्लिङ्ग, चेस, ध्वाइँकासा, स्केटिङ्ग र बिबोइङ्गका खेलहरु सम्मिलित छन् । वैशाख ५ गते हाम्रो सम्पदा फोटो पत्रकार वाक, ६ गते मरुटोल सिंहसत्तलमा हुलाक टिकट प्रदर्शनी, वैशाख ७ गते वरिष्ठ चित्रकारहरुद्वारा चित्रकारिता र ८ गते गाजाबाजा र झाँकीहरुसहित दिनको साढे १ बजे हनुमानढोकाबाट स्वयम्भू भुइखेलसम्म पदयात्रा गर्ने र स्वयम्भू भुइखेलमा विशेष समारोहको आयोजना गरिनेछ । यसमा विदेशी पर्यटकहरु पनि सम्मिलित हुन्छन् भने महिला समूहले नेवारी खाजाका साथ हस्तकला व्यवसायीहरुले हस्तकलाका स्टलहरु पनि राख्नेछन् । 
यस्तो कार्यक्रम गर्ने तारतम्य कसरी मिल्न गयो? 
म काष्ठमण्डप पछाडिको चोकमै जन्मेर हुर्केको मान्छे हुँ । म विदेश नगएसम्म सम्पदाहरुमा मेरो खास चासो थिएन । तर विदेशीहरुले सम्पदालाई महत्व दिएको देखेर म आफ्नो घरवरिपरि रहेको सम्पदा त ती विदेशका सम्पदा भन्दा अझ पुराना र महत्वपूर्ण लाग्यो र सम्पदा संरक्षणको कार्यमा लागेँ । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा उम्मेद्वार बन्नुभएका जीवनराम श्रेष्ठ र राजेश शाक्यबाट सम्पदा संरक्षण र भूकम्प पछिको सम्पदाको पुनर्निर्माणलाई आफ्नो चुनावी एजेन्डा नै बनाएको पाए पछि मैले यो एजेन्डा मात्र हो कि साँच्चिकै काम नै गर्नुहुन्छ भन्ने प्रश्न तेस्र्याएँ । अहिले प्रतिनिधि सभामा जित्नुभएका सांसद जीवनराम श्रेष्ठले त्यो बेला म जिते पछि पहिलो काम नै सम्पदासम्बन्धमा गरेर देखाउँछु  भन्नुभयो । वहाँले नै यो एक विश्वसम्पदा स्थलबाट अर्को विश्व सम्पदा स्थलसम्मको पदमार्ग(ट्रेल) विकास गर्ने अवधारणा अघि सारी यसमा कार्य गर्न मलाई समितिको सचिव नै बन्न अनुरोध नै गर्नु भयो । मैले उहाँको यस प्रस्तावलाई सहर्ष स्वीकारेर यसमा खटेको हुँ । यस विश्व सम्पदा उत्सव मूल समारोह समितिमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नै संयोजक हुनुहुन्छ । 
यो पदमार्गको रुट के कस्तो छ? 
यो पदयात्रा मार्ग काष्ठमण्डपबाट सुरु भई उपत्यकाका चार विनायक मध्येका एक अशोक विनायक, मरुहिटी, सन्तानेश्वर महादेवस्थान, मरुबहिल, मिच्याः गल्ली, बञ्जाहिटी, चसान, दमाइटोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी देवघर, आयुर्वेद अस्पताल, ताम्सिपाखा चिबहाल, सामुदायिक गल्ली, भुरुङ्गखेल, मेछ्योँ हिटी, तप्यंता, डल्लू भेलू महादेव, डल्लू चौतारा, निपु हिटी, धिमेल्वहँ हुँदै भुइखेल चौरसम्म निर्धारण गरिएको छ । यसको जम्मा दूरी २.२ (दुई दशमलब दुई) किलोमिटर छ । माथि सबै स्थलहरुको आफ्नै महत्व छ भने बीचमा अन्य सम्पदाहरु समेत छन् । 
जस्तो काष्ठमण्डप एकै काठले बनेको सत्तल हो, जो अहिले भूकम्पपछि धराशयी छ । अशोक विनायक वा मरु गणेशस्थान चार विनायकहरु मध्येको एक र तत्कालीन राजाहरुको स्थान गणेशसमेत हो । मरुहिटी ढुङ्गेधारामा राजामतिले पानी लिन आउने कथन छ । सन्तानेश्वर महादेवस्थानमा साउनको प्रत्येक सोमबार भक्तजनहरुको ओइरो लाग्छ । सन्तान नभएकाहरुले सन्तान प्राप्तिका लागि यस महादेवको पूजा अर्चना गर्दछन् । मरुबहिलमा शाक्यहरुको पुरानो विहार हो र यहाँ बुद्ध मूर्ति रहेको छ । मिच्याः गल्लीमा लाखेले आगो बाली नाच्ने कथन छ । 
त्यस्तै गरी बञ्जाहिटी व्यापारीहरुको ढुङ्गेधारा हो भने चसानमा अहिले पनि परम्परागत रुपमा हाते कोलमा तेल पेली निकाल्ने गरिन्छ । यहाँ तोरीको शुद्ध तेल बिक्री पनि हुन्छ । यसै गरी यस मार्गमा अन्य महत्वपूर्ण सम्पदाहरु रहेका छन् । यसका साथै परम्परागत नेवार बस्ती र बस्तीभित्रका गल्लीहरु पनि यस सम्पदा मार्गका विशेषता हुन् । 
अहिले तपाईं आफैँले काष्ठमण्डप जस्तो सम्पदा भूकम्प पछि धराशयी रहेको छ भन्नुभयो । भूकम्प पछिको सम्पदा पुनर्निर्माण कार्यमा तपाईंहरुको कार्यले के योगदान गर्ला ?
अहिले तत्कालको हाम्रो कार्यसूचीमा काष्ठमण्डप जस्तो काठमाडौंको नामाकरण भएको सम्पदा पुनर्निर्माणको कार्य परेको छैन, किनभने हाम्रो कार्यसूची र उद्देश्य नै सम्पदा पदमार्ग हो । तर तपाईं आफैँले प्रश्न उठाए जस्तो भूकम्प पछिको सम्पदा पुनर्निर्माणको सवाललाई हाम्रो कार्यक्रमले जल्दोबल्दो प्रश्नको रूपमा उठाउँछ नै  । साथै स्थानीय जनताहरु पनि यसमा जागरुक हुन्छन् । हाम्रो सम्पदा मार्गको सुरुवाती विन्दुमै रहेको काष्ठमण्डपको पुननिर्माणको सवाललाई हामीले पनि निश्चितै रूपमा उठाउनुपर्ने अवस्था पनि आउँछ र हामी आफैँ लाग्नुपर्ने पनि हुृनसक्छ । 
यत्ति मात्र होइन, सम्पदा मार्गमा रहेका परम्परागत घरहरुको पुनर्निर्माणको सवालमा परम्परागत शैलीमा निर्माण गर्न के कस्तो योजना चाहिन्छ, यी खालका कुराहरु पनि आउँछन् नै । 
सम्पदा मार्ग निर्धारण गरी विकास गर्ने तपाईंहरुको प्रयासलाई सरकारी स्तरबाट के कस्तो सहयोग मिलेको छ ?
काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्य नै यस समितिका संयोजक हुनुहुन्छ । त्यस्तै गरी काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठ सल्लाहकार समितिका अध्यक्ष हुनुहुन्छ । सल्लाहकार समितिमा क्षेत्र नं ७ का सांसद रामवीर मानन्धर, प्रदेश सभा क्षेत्र नं ८ (१) का सांसद राजेश शाक्य र प्रदेश सभा क्षेत्र नं. ७ (१) का सांसद वसन्त मानन्धर पनि सल्लाहकार समितिमा हुनुहुन्छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव राजवैद्य पनि उपस्थित हुनुभएको छ । हामीले कार्यक्रमको उद्घाटन कार्यका लागि मन्त्रीहरुलाई पनि आमन्त्रण गरेका छौँ । अन्तिम दिनको मूल समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई  आमन्त्रण गरेका छौँ । यसर्थ  यस कार्यमा सरकारको ध्यानाकर्षण भइसकेको छ । भावी दिनहरुमा सरकारबाट के कस्तो सहयोग लिने भन्ने कुरा होला । 
यसका साथै सम्पदा पदमार्ग निर्धारणको कार्यका लागि युनेस्कोले पनि समर्थन जनाएको छ, भावी दिनमा त्यहाँबाट पनि के कस्तो सहयोग चाहिन्छ त्यो मिल्ने नै छ । 
सम्पदा पदयात्रा मार्गले पर्यटन प्रबद्र्धनका लागि चाहिँ के कस्तो सहयोग पुग्छ होला? 
निश्चितै रुपमा हाम्रो उद्देश्य पर्यटन प्रबद्र्धन पनि हो । एउटा विश्वसम्पदा स्थलबाट अर्को विश्व सम्पदा स्थलसम्म पदयात्रा गर्ने खालको सम्भावना अन्यत्र छैन । यो स्वयं एउटा आकर्षक र यात्रा सम्पन्न गर्नेहरुका लागि गौरवपूर्ण यात्रा हुनेछ । हामी यात्रा पूरा गर्नेहरुलाई  प्रमाणपत्र प्रदान गर्नेछौँ, जो उनीहरुका लागि गर्वको विषय बन्नेछ । उनीहरुले आफूलाई सौभाग्यशाली महसुुस गर्नेछन् । देशभित्र र देशबाहिर पनि यसको प्रचारप्रसारले पर्यटकहरु बढ्नेछन् । यात्रा भरि नै अनौठो र अनेक कथा बोकेको सम्पदाहरु रहेको यस मार्ग साँच्चिकै अनुभव लिन योग्य कुरा हो भन्ने कुरा हामी आफैँ पनि उक्त मार्ग निर्धारणका क्रममा हिँड्दा अनुभूति गर्न पायौँ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD