८ बैशाख २०८१, शनिबार
Header

एक महिनासम्म मनाईने गुंला पर्व सुरु


काठमाडौं । नेवार समुदायले मनाउने गुंला पर्व शुक्रवारबाट सुरु भएको छ । 


एक महीनासम्म मनाइने यस पर्व विशेष गरी उपत्यकाका शाक्य, बज्राचार्य, मानन्धरलगायतका समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना विभिन्न धार्मिककार्य गरी मनाउने गर्दछ । 


विशेषगरी बुद्धधर्मावलम्बी नेवारले मनाउँदै आएको यो पर्व पछिल्लो समयमा हिन्दू धर्मावलम्बीले पनि मनाउन थालेका छन । 


ऐतिहासिक गुंला पर्वमा उपत्यकालगायत आसपासका चैत्य र बिहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी मनाईन्छ । 


यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिन्छ । न्याकुँ बाजा, धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा, चती, न्याकुल बाजा बजाएर चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताहरुको परिक्रमा गर्ने गर्दछन । 


एक महीनासम्म पर्वमा सहभागी रहने व्रतालुले नून नखाइ एक छाक मात्र खाने र पर्व अवधिभर बिहानबेलुका पूजाअर्चना गर्ने प्रचलन छ ।


भक्तपुर, मध्यपुरथिमिलगायतका बासिन्दाले नागपञ्चमीका दिन चाँगुनारायण, जनैपूर्णिमाका दिन ललितपुर कुम्भेश्वर, कृष्णमन्दिर र बालकुमारी मन्दिर, गाईजात्राका दिन मध्यपुरथिमि नगरपरिक्रमा गरेर मनाउँछन ।


त्यस्तै कृष्णास्टमीका दिन काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाकाल, भदौ ११ सूर्यविनायक गणेशमन्दिर र भक्तपुर नगरपरिक्रमा गरिन्छ ।


भदौ १४ मा बुङ्गमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरी यो परम्परा सम्पन्न गरिन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD