काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा सुधार देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड ले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।
नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी सहभागी भएकामा २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भएका छन भने १ लाख ४६ हजार ५ सय ७ जना अनुत्तीर्ण भएका छन । अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारी ले जानकारी दिए ।
यस वर्ष परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरिएको छ, जुन अघिल्ला वर्षको तुलनामा छिटो हो । यसअघि नतिजा प्रकाशन गर्न तीन महिनासम्म लाग्ने गरेको थियो ।
सरकारले एसईई नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य राखेको थियो ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार विद्यालयमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था र सिकाइमा आएको सुधारले नतिजा सकारात्मक बनेको हो । यस वर्ष ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३ सय ९२ रहेका छन ।
जीपीए ३.२० देखि ३.६० सम्म ८० हजार ३ सय ७२, २.८० देखि ३.२० सम्म ९४ हजार २ सय २२, २.४० देखि २.८० सम्म ५५ हजार ९ सय ७७ विद्यार्थी छन । २.० भन्दा मुनि जीपीए ल्याउने विद्यार्थी संख्या अत्यन्त न्यून रहेको छ ।
प्रदेशगत रूपमा भने नतिजामा असन्तुलन देखिएको छ । बागमती प्रदेशमा ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिममा ५१ प्रतिशत मात्र उत्तीर्ण भएका छन । सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनी प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर रहेको छ भने बागमती, गण्डकी र कोशी प्रदेश अगाडि छन ।
सुदूरपश्चिमबाट ५१.२२ प्रतिशत, कर्णालीबाट ५९.०६ प्रतिशत र लुम्बिनीबाट ६१.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। मधेश प्रदेशमा ५८.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा कोशीमा ७०.४४ प्रतिशत र गण्डकीमा ७२।७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।
नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि जेठ १ देखि ७ गतेसम्म आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
Categorized in राष्ट्रिय