१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एकल प्रदर्शनीको तयारीमा कलाकार लिलाधर केसी


प्रकाशित: मंगलवार, ५ फागुन २०८२, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । दाङ तुलसीपुर–८ का चित्रकार लिलाधर केसी यतिबेला आफ्नो पहिलो एकल कला प्रदर्शनीको तयारीमा जुट्नुभएको छ ।

 
यसअघि देश–विदेशमा आयोजित सामूहिक प्रदर्शनीमा मात्र सहभागी हुँदै आउनुभएका उहाँले अब आफ्नै सिर्जनालाई केन्द्रमा राखेर एकल प्रदर्शनी गर्ने तयारी गर्नुभएको हो । 


‘भोक, शोक र लोकका लागि’ भन्ने जीवनदृष्टि बोकेर कला साधनामा लाग्नुभएका केसीले आफ्नो कलायात्राबाट उठेको आम्दानीको ५० प्रतिशत रकम आगामी दिनमा समाजसेवा र कला प्रवद्र्धनमा समर्पण गर्ने घोषणा गर्नुभएको छ । 


उहाँलाई हालै अर्निको दिवस तथा ३१ औं कमर्सियल आर्टिष्ट संघको स्थापना दिवसका अवसरमा बालकृष्ण कला सम्मान द्वारा अभिनन्दन गरिएको थियो ।


बाल्यकालमै सुरु भएको कलायात्रा


करिब ११/१२ वर्षको उमेरदेखि अनायासै सुरु भएको केसीको कलायात्रा तीन दशकदेखि निरन्तर जारी छ । बाल्यकालमा घरनजिकैको खोलाले बगाएर ल्याएको कालो लेसाइलो माटोबाट नागको आकृति बनाएर सुरु भएको सिर्जनात्मक यात्राले आज व्यावसायिक उचाइ लिइसकेको छ ।


उहाँले बनाएको माटोको नागलाई साँच्चिकै सर्प ठानेर बुवाले तर्सिएको घटना उहाँको जीवनकै स्मरणीय मोड बनेको छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं त्यही घटनाबाट उहाँको कला प्रतिभा पहिचान भएको थियो । 


भारतदेखि राजधानीसम्म


विद्यालय शिक्षा पूरा गरेपछि भारतमा कला प्रशिक्षण लिनुभएका केसी वि.सं. २०६२ मा जीविकोपार्जन र कलायात्रालाई अगाडि बढाउन काठमाडौं प्रवेश गर्नुभयो । कालीमाटीस्थित आर्ट पसलबाट व्यावसायिक यात्रा सुरु गर्नुभएको उहाँको जीवनमा अर्को मोड ठमेलस्थित निर्वाणा आर्ट ग्यालरी सँगको सहकार्यबाट आयो ।


गाउँका एक दाजुमार्फत ग्यालरीमा पुगेका उहाँका चित्रले ग्यालरीका संस्थापक एवं कलाकार बेखराम बलामी श्रेष्ठको ध्यान खिचेको थियो । त्यसयता करिब २२ वर्षदेखि उहाँ उक्त ग्यालरीसँग आबद्ध रहँदै आउनुभएको छ । ग्यालरी पक्षले केसीलाई प्रकृतिप्रेमी र स्पष्ट सन्देश दिने कलाकारका रूपमा लिने गरेको छ ।


घटनाबाट प्रेरित सिर्जना


कलाकार केसीका चित्रहरूमा आध्यात्मिक कथा र समसामयिक यथार्थको संयोजन देखिन्छ । तीन वर्षअघि थानकोट नागढुंगास्थित घरमा सर्पले आँगनमा खेलिरहेका तीन वर्षीय छोरालाई बेरेर पनि कुनै हानी नगरेको घटनालाई उहाँले जीवनको अनौठो संयोग मान्नुहुन्छ । 


त्यसपछि उहाँले द्वापर युगमा श्रीकृष्णलाई कालिया नागले बेरेको कथासँग जोडेर एक्रेलिक रङ प्रयोग गरी चित्र सिर्जना गर्नुभएको थियो ।


नेपालमा नाकाबन्दीका बेला भोगिएको अभाव र महँगीलाई पनि उहाँले क्यानभासमा उतार्नुभएको छ । एक चित्रमा ढाका टोपी लगाएका नेपालीले छाती च्यातेर चन्द्र–सूर्य अंकित झण्डा देखाएको दृश्यमार्फत राष्ट्रिय स्वाभिमान प्रस्तुत गरिएको छ, जुन हनुमानले छाती च्यातेर राम–सीताको भक्ति देखाएको प्रसंगसँग मेल खान्छ ।


शैक्षिक पृष्ठभूमि र उपलब्धि


त्रिभुवन विश्वविद्यालय बाट कला विषयमा स्नातकोत्तर गर्नुभएका केसीले देश तथा विदेशमा आयोजना भएका विभिन्न सामूहिक प्रदर्शनीमा सहभागिता जनाइसक्नुभएको छ । 


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान द्वारा आयोजित लुम्बिनी प्रादेशिक कला प्रदर्शनीमा उहाँ उत्कृष्ट पुरस्कारबाट सम्मानित हुनुभएको थियो । 


हाल प्रदर्शनीको तयारीसँगै कला प्रशिक्षणमा समेत सक्रिय रहनुभएका कलाकार केसीले आगामी दिनमा कला र समाजलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex