काठमाडौं । काठमाडौं हनुमानढोका परिसरमा यंसिं (इन्द्रध्वज) लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको मानिन्छ ।
श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ ।
असोज ९ गते नेपाल संबत ११४३ ञलाथ्व द्वादशी मंगलवारका दिन काठमाडौंको भित्री सहरमा ‘उपाकु वनेगु’, ‘दागिं’, ‘बौमत’, ‘हाथु हायेकेगु’, ‘यंकीदँ (इन्द्र सरोबर) जाने’ पितृ मोक्षको लागि गरिने जात्रा तथा परम्परा हुन ।
‘उपाकु वनेगु’ भनेर वर्ष दिनभित्र मृत्यु भएका आफन्तका नाममा उनका परिवार काठमाडौंको भित्री शहरमा नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो दियो बालेर राख्दै जान्छन् । यसरी काँचो दियो बालेर राख्दै जाने पितृ मोक्षको लागि गरिने परम्परा रहेको छ ।
यस दिनको लागि उपाकु मार्ग रुट परिक्रमा हुने गर्दछ । जस अनुसार क्षेत्रपाटी – स्वाँछपु गणेश – ठँहिटि – ज्याठा – छुस्याबहाल – ईनबहाल – कमलाछी – भोताहिटि– भोताहिटि गल्ली – महाबौद्ध – तासिथु गणेश ( दुगँबही – न्यूरोड गेट – तेबहाः – सुन्धारा – धरहरा – बागदरवार मार्ग – ताहागल्ली – भुलाँ – गणमहाविहार – भोटेबहाल (पिपलवोट) – लगन – भोटेबहाल (दक्षिणकाली मन्दिर) – माकः गल्ली – सबल बहाल – चल्खु – पुखुसी – पक्वहिटि – वन्डे – ह्युमत – जोशी देगः – क्वहिटि – तब्व माग– भिमसेनस्थान – क्वपराक्यबस् – ख्यक्यबः – चसान्दो – कंकेश्वरी मार्ग – सुन्ता गल्ली – पाछें गल्ली – तुँछे गल्ली – रक्तकाली – इखापुखु – क्षेत्रपाटी परिक्रमा रुट हुन ।
यस दिन उपाकु परिक्रमा हुने यो रुटमा दिउसो २ बजे देखि फुटपाथ पसल, सवारी साधन पार्किङ र सवारी साधन आवत जावतमा उपाकु परिक्रमा सम्पन्न नहुन्जेल पूर्ण रुपमा निषेध र बैकल्पिक बाटो प्रयोग गर्न हुन अनुरोध गरिएको छ ।
अति आवश्यक दमकल, एम्बुलेन्स, शव वाहन, बिरामी बोकेको सवारीसाधनलाई भने चल्न दिईने छ ।
तस्वीरः अन्जितमान डंगोल/महानगरखबर
Categorized in सम्पदा/संस्कृति