काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन औपचारिक प्रक्रिया अघि बढाएका छन ।
दुवै दलले आज बिहानैदेखि आफ्ना सांसदलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर संकलन थालेका हुन ।
कांग्रेसको पदाधिकारी बैठकपछि सांसदहरू कार्यालयमा पुगेका छन भने एमालेले पनि सांसदहरूलाई दिउँसो २ बजेसम्म हस्ताक्षर गर्न खबर गरेको छ ।
बिहानैदेखि सांसदहरू धमाधम कार्यालय पुगेर हस्ताक्षर गरी फर्किरहेका छन् ।
यसअघि सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस–एमालेका शीर्ष नेतासहित महान्यायाधिवक्ता रमेश बडालको उपस्थितिमा बैठक बसेको थियो ।
सो बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्चको फैसलासँगै उपसभामुख हटाउने विषयमा समेत छलफल भएको थियो ।
उपसभामुख रानामाथि अमेरिकामा लैजाने प्रयोगका लागि भिसा सहज बनाउन आफ्नै लेटरप्याड प्रयोग गरी अमेरिकी राजदूतावासमा चिठ्ठी पठाएको आरोप छ ।
यही कारण दुवै दलले उनलाई पदच्युत गर्ने तयारी गरेका हुन । यतिखेर अमेरिका भ्रमणमा छिन् उपसभामुख राना ।
यसअघि पनि रानालाई हटाउने पहल भए पनि विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । तर यसपटक कांग्रेस र एमाले मिलेर अघि बढेकाले प्रस्ताव सदनमा पुग्ने प्रबल सम्भावना देखिएको छ ।
Categorized in राष्ट्रिय