काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट प्रक्रियामा संयमता अपनाउन र सहकार्यको भावनाले अघि बढ्न सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन ।
आइतबार सार्वजनिक सन्देशमार्फत उपमेयर डंगोलले भनिन्, ‘वातावरण बिगार्ने होइन, सम्हालेर; आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ।’
काठमाडौं महानगरपालिकाले संविधानले तोकेको मिति असार १० भित्र आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्न सकेको छैन ।
मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृतबीचको बढ्दो असमझदारीका कारण बजेट प्रक्रिया अवरुद्ध भएको हो ।
यही सन्दर्भमा उपमेयर डंगोलले सहकार्य र संवादको बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छन । उनले भनिन्, ‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने प्रयास नगरौं। हामी सबै हातेमालो गरेर अघि बढौ ।’
डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोषारोपण गरेर बजेट प्रक्रिया रोक्न नहुने स्पष्ट पारिन् ।
उनको भनाइ छ, ‘यदि प्रमुख प्रशासकीय अधिकृत दोषी छन् भने उहाँमाथि कानुनी प्रक्रिया अनुरूप कारबाही हुनुपर्छ। तर बैठकमा उहाँको उपस्थितिविना कार्यपालिका र नगरसभा सञ्चालन गर्नु कानुनी रूपमा पनि उचित होइन ।’
उनले जनप्रतिनिधिले प्रशासकीय अधिकृतसँग सिधा प्रश्न राख्ने अधिकार हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘बैठकबाट उहाँलाई बाहिर राख्दा जनतामा उहाँले जवाफदेहिताबाट भाग्न खोजिएको भन्ने सन्देश जान सक्छ ।’
उपमेयर डंगोलले महानगरको प्रमुख कार्य अब ढिलाइ नगरी बजेट ल्याउने हुनु पर्नेमा जोड दिइन् ।
उनको भनाइमा, ‘यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन । हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौं। हाम्रो जिम्मेवारी पूरा नगरेमा काठमाडौंबासीलाई धोका दिनेछौं।’
डंगोलले आइतबार मेयर, प्रवक्ता तथा अन्य कार्यपालिका सदस्यहरूसँग अनौपचारिक छलफल भएको र नगरसभा र बोर्ड बैठक छिटै सम्पन्न गर्ने सकारात्मक संकेत प्राप्त भएको जानकारीसमेत दिइन ।
Categorized in पालिका