काठमाडौं । उपत्यकावासीले आज ( शुक्रवार) सांस्कृतिक जात्रा घोडेजात्रा भव्य रुपमा मनाउँदै छ ।
चैत्र कृष्ण औँसीका दिन यस पर्वलाई उपत्यकावासीले विशेष पर्वको रुपमा मनाउने गरेको छ । यस पर्वलाई नेपाल भाषामा पाँचह्े पनि भनिन्छ ।
पुरानो जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।
आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
Categorized in सम्पदा/संस्कृति