काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न समयमा चोरी भएका २२ वटा स्कुटर र १९ वटा मोटरसाइकल आइतबार आयोजित कार्यक्रममा धनीलाई बुझाइएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सवारी साधनहरू हस्तान्तरण गरेका हुन ।
ट्राफिक प्रहरीले चोरीबारे परेको उजुरीका आधारमा खोजतलास गर्दा केही सवारी वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखी चलाइएको अवस्थामा फेला पारेको जनाएको छ ।
यसअघिका फेला परेका सहित गत साउन यता मात्रै चोरी भएका ५२ वटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई बुझाइसकिएको छ ।
चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि प्रहरीमा बुझाइएको कार्यालयले जनाएको छ ।
कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४१७ र २०८१/८२ मा ५०३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
Categorized in समाज