काठमाडौँ । उपत्यकाका विभिन्न वस विसौनीमा व्यवस्थित शौचालय निर्माण गर्न माग गर्दै नेपाल यातायात मजदुर संघले काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेका छन् ।
यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो ।
सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो ।
प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएकोमा ४२ स्थानमा बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध जानकारी दिए ।
उपलब्ध गराएका स्थानमा एक हप्ताभित्र बोलपत्र आह्वान गरी शौचालय निर्माण थाल्ने प्रमुख कार्कीले बताए ।
हाल काठमाडौँ उपत्यकामा १३ स्थानमा मात्र सार्वजनिक शौचालय छ ।
Categorized in समाज