७ बैशाख २०८१, शुक्रबार
Header

उपत्यकाका भूमिहीन नेवारहरुको समस्या उठाउन संघर्ष गरिने


प्रकाशित: शनिवार, २० बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले सुकुम्बासीहरुलाई राजधानी काठमाडौँमा समेत जग्गा दिने तयारी गरेपछि उपत्यकाका भूमिहीन नेवारहरुको समस्या उठाउन संघर्ष गर्ने तयारी भएको छ । 


यस कार्यका लागि नेवारहरुको अधिकारका लागि संघर्ष गरिरहेका विभिन्न संघसंस्थाका बीच छलफल कार्य तीव्र भएको छ । यस छलफल कार्यक्रमका सहभागी भएका अभियन्ता श्यामकृष्ण प्रजापतिले अहिले सुकुम्बासी भनी अगाडि आइरहेकाहरुको समस्या भन्दा राजधानीका भूमिहीन नेवारहरुको समस्या विकराल रहेको बताउनुभयो ।


 ‘काठमाडौँमा कतिपय त भूमिविहीन नै छन् भने कयौँ नेवारहरुका २ आनासम्म पनि जग्गा छैनन । त्यसैले ६ आना जग्गा दिने सरकारी योजनामा यस्ता भूमिहीनहरुलाई पनि समावेश गर्नुपर्छ ।” प्रजापतिले भन्नुभयो । 


“नेपाल सरकारले उपत्यकामा ६ आना र तराईमा १० धुर जग्गा दिने भनी निर्णय गरिसकेको छ । उपत्यकाका नेवारहरुको घर १ आना भन्दा कम जमिनमा बनेको धेरै छ भने ती पनि अंशबण्डा गर्नुपर्ने अवस्थाका छन । यसर्थ सरकारले यस समस्यालाई ध्यान दिनै पर्ने हुन्छ ।”, उहाँले बताउनुभयो । 


छलफल कार्यक्रममा उपत्यका सडकपीडित संघर्ष समितिका सुमन साय्मि, सेभ नेपाः भ्यालीका सुरज महर्जन, ठमेलको कमलपोखरी बचाउ अभियानका भागवत नरसिंह प्रधान, थारु अभियन्ता लक्ष्मण थारु लगायतले सक्रियता देखाइराख्नुभएको छ । 


अधिवक्ता विजयराज शाक्यले आवश्यक कानूनी सल्लाह प्रदान गरिराख्नुभएको छ । यसका लागि भूमिहीन नेवारहरूको छुट्टै संगठन बनाई अगाडि बढ्ने कुरा तय भएको बताइएको छ । 


संगठन, सरकारसमक्ष माग प्रस्तुति सहित आवश्यक परे संघर्ष समेत अगाडि बढाइने कुरा प्रजापतिले जानकारी दिनुभएको छ ।

 

(समाचार स्रोतः नेपालभाषा टाईम्स)

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD