काठमाडौं । मेलम्चीको पाईप सफा गरेको पानीले उपत्यकाका नदी छेउमा पानीको सतह बढ्ने भएकोले नदी छेउमा सर्वसाधरणलाई नजान आग्रह गरेको छ ।
मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा लगायत नदीमा पठाईने भएकोले पानीको सतह बढ्ने भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
साथै नदी छेउमा बालवालिका तथा चौपायालाई समेत नपठाउन आग्रह गरेको छ ।
सो पत्रकार सम्मेलनमा हाल सुन्दरीजलबाट चावहिल धोबीखोलासम्मको ११ किमी पाइप परीक्षण सम्पन्न गरी धोबीखोलाबाट नारायणगोपाल चोकसम्मको तीन किमीमा काम भइरहेको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिए ।
साथै पाईप फुटेको, चुहिएको देखेमा निर्देशनालयको निःशुल्क फोन नं ११३९ मा खबर गर्न अनुरोध गरिएको छ । पाइपको निर्मलीकरण गर्न प्रयोग गरिने रासायनिक पदार्थले स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा नदीको पानी प्रयोग नगर्न, पशुपक्षीलाई पनि नदीको पानी नखुवाउन निर्देशनालयले सजग समेत गराएको छ ।
Categorized in समाज