काठमाडौँ । हिन्दुधर्मालम्बीहरुले विशेष रुपमा सूर्यको पूजा गरी मनाईने छठ पर्व बुधवार विहान सूर्यलाई अघ्र्य दिई विधिवत रुपमा सम्पन्न भएको छ ।
चार दिन लामो छठ पर्वको अवसरमा मंगलवार राजधानीको कमलपोखरी घाटमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनः गई पुजा–आराधाना गरेका थिए ।
उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो ।
लाखौँ भक्तजनले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए ।
उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए ।
सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ ।
विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । अहिले छठपर्व देशमा मुख्य शहरहरुमा पनि मनाउन थालिएको छ ।
पोखरा, बुटवल, जनकपुरधाम, विराटनगर, वीरगञ्जमा यस बर्षको छठ धुमधामसँग मनाईएको समाचार संचार माध्यमहरुले प्रेसित गरेको छ ।
अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
Categorized in सम्पदा/संस्कृति