काठमाडौं । उच्च माग भएको बेला (पिक आवर) बाहेक अन्य समयमा अब औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यका अनुसार भारतबाट थप विजुली आएकोले उच्च माग भएको बेला (पिक आवर) बाहेक अन्य समयमा अब औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदैन ।
विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएपछि यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।
भारतले १५ मार्चदेखि बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।
भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ ।
राति पनि बिजुली आयात गर्न पाउने व्यवस्था भएसँगै शुक्रबारदेखि विराटनगर र भैरहवा औद्योगिक करिडोरको लोडसेडिङ बन्द हुने उनले दाबी गरे ।
भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग थप २३० मेगावाट बिजुली ल्याउन प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिए ।
28 March 2025, Friday
Categorized in प्रबिधि