५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना नलाग्ने 


प्रकाशित: मंगलवार, १० भाद्र २०८२, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान नगरे तुरुन्त जरिवाना लाग्ने भन्ने हल्ला निराधार भएको यातायात व्यवस्था विभागले बताएको छ । 


मंगलबार विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना वा कारबाही हुने भन्ने अफवाहमा नपर्न आग्रह गरेको हो ।

 
विभागका महानिर्देशक राजिव पोखरेलले जारी गरेको विज्ञप्तिमा तत्कालका लागि कुनै किसिमको दण्ड/जरिवाना नलाग्ने स्पष्ट पारिएको छ ।


विज्ञप्तिमा भनिएको छ, “इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा क्रमशः जोड्दै लैजाने निर्णय भएको हो। तर, मिति २०८२ असोज १ गतेदेखि जडान नगरे तुरुन्त कारबाही वा जरिवाना लाग्ने भन्ने भ्रम उत्पन्न भएको विषयलाई असत्य ठहर गर्दै तत्काल जरिवाना नलाग्ने स्पष्ट पारिन्छ ।”


विभागले सेवाग्राहीलाई आफूलाई सहज हुने समयमा सम्बन्धित सवारी दर्ता कार्यालयमा गई स्वतःस्फूर्त ढंगले नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ । 


साथै विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा समेत काम भइरहेको जानकारी दिएको छ ।


यसअघि विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको र जडान नगरे जरिवाना तिर्नुपर्ने चर्चा व्यापक बनेको थियो तर विभागले त्यसलाई भ्रम मात्र भएको बताएको हो ।


यसबाहेक, नम्बर प्लेटमा प्रयोग गरिएको अंग्रेजी लिपीबारे पनि प्रष्टिकरण दिँदै विभागले ठेक्का सम्झौता तथा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटि नभएको स्पष्ट गरेको छ ।

 
विभागले सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत अंग्रेजी लिपी प्रयोग हुँदै आएको स्मरण गराएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex