८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्दै, आजै सपथ लिने


प्रकाशित: मंगलवार, २० मंगलवार २०८२, ०८ः१५ बजे
- महानगरखबर

काठमाडौं ।  बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुने पक्का भएको छ ।

 
उनले सोमबार नै प्रदेश प्रमुखको कार्यालयमा ६४ सांसदको समर्थनसहित नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए । 


नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले आफ्नै दलका ३७ र सत्ता साझेदार नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका हुन । 


११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।


प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत गरेपछि मंगलबार दिउँसो २ बजेसम्मको समय दिँदै मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । 


सो समयसीमा भित्र बानियाँ एक मात्र उम्मेदवारको रुपमा प्रस्तुत भएपछि उनलाई आज दिउँसो ४ बजे पद तथा गोपनीयताको सपथ गराइने कार्यक्रम तय भएको हो ।


संविधानको धारा १६८ को उपधारा २ अनुसार कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ ।


कांग्रेस नेता बानियाँले मुख्यमन्त्रीको सपथपछि आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन । प्रारम्भिक चरणमा कांग्रेस र एमालेबाट केही मन्त्री नियुक्त हुने बताइएको छ ।


यसअघि मुख्यमन्त्री रहेका बहादुर सिंह लामाले आफ्नो पार्टीका सांसदबाटै प्रस्तुत गरिएको अविश्वासको प्रस्तावमा पराजित भएपछि आइतबार पदबाट राजीनामा दिएका थिए । लामाले ९ साउन ०८१ मा सरकारको नेतृत्व सम्हालेका थिए। कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार अब बानियाँले आगामी फागुनसम्म सरकारको नेतृत्व गर्ने र त्यसपछि एमालेले नेतृत्व लिनेछ ।


बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex