काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व अत्यन्त भव्य र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ ।
सोमबार बिहान नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहहरूको भेलामा मेयर शाक्यले उक्त अपिल गर्नुभएको हो । भेलाले इन्द्रजात्रा पर्वमा कुनै पनि राजनीतिक गतिविधिहरू नगर्न र कुनै पनि संघ संस्थाले जात्रालाई असर पर्ने गरी कुनै क्रियाकलाप नगर्ने प्रतिवद्धता सहित सार्वजनिक अपिल पनि जारी गरेको छ ।
उक्त अपिलमा मेयर शाक्य लगायत इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य र लाखे, पुलुकिसि, श्रीकुमारी, श्री गणेश, श्री भैरव, श्री हल्चोक आकाश भैरव आदिका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले यस पटक विश्वका विभिन्न देशका पाँच शहरका मेयर सहित ४८ जना विदेशी प्रतिनिधिहरू इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्य रुपमा मनाई हाम्रो सभ्यताको परिचय दिनुपर्ने बताउनुभयो ।
मेयर शाक्य इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहल भइरहेको जानकारी दिनुहुँदै त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिनुभएको पनि बताउनुभयो । हाल रु. ५ करोडको कोष बनाउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा जागरण मञ्चका संयोजक सुजिव वज्राचार्य, सरसफाइ अभियानका संयोजक राजमान मानवले पनि मन्तव्य राख्नुभएको थियो ।
Categorized in सम्पदा/संस्कृति