काठमाडौं । काठमाडौं महानगरपालिकाको निमन्त्रणलाई स्वीकार गरी विहिवार ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने भएको छ ।
बुधवार उक्त जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले औपचारिक रुपमा जानकारी दिएका हुन ।
इन्द्रजात्रा अवलोकन गर्न पहिलो पटक अन्तरराष्ट्रिय नगरका प्रमुख र प्रतिनिधि सहभागी आउन लागेको हो ।
पाहुनहरुले इन्द्रजात्रासँगै उपत्यकाको विभिन्न जीवन्त एवम अमूर्त सम्पदाहरुको अवलोकन र अध्ययन गर्ने मेयर शाक्यले बताए ।
अवलोकनमा आउने पाहुनालाई ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरी नगरको समन्वयनमा चन्द्रागिरी क्षेत्रका भ्रमण अवलोकन गराउने योजना शाक्यले जानकारी दिए ।
मेयर शाक्यले अन्तर्राष्ट्रिय पाहुनाहरुको अवलोकनले उपत्यकाको सम्पदाहरु अन्तर्राष्टिकरण पनि हुने र उपत्यवासीले पनि लाभ पाउने बताए ।
४ रात ५ दिन काठमाडौंमा बिताउने यी पहुनाहरुलाई शुक्रावार हनुमानढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्यान्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथ यात्राको अवलोकन गराइनेछ ।
त्यसैगरी भदौ २८ गते चन्द्रागिरी, छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गराईने र २९ गते आइतबार भक्तपुर र पाटन दरबार स्क्वायरको भ्रमण अवलोकन गराईने कार्यक्रम रहेको छ ।
निमन्त्रणलाई स्वीकार गर्दै चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त आउने भएको छ ।
त्यसैगरी नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली आउने पत्र प्राप्त भएको छ ।
त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ ।
Categorized in सम्पदा/संस्कृति