इन्द्र हिन्दूहरूका देवताका राजा हुन् । आजभोलिको वैज्ञानिक दृष्टिले हेर्दा ती देवता भनेका आभिजात्य वर्ग र तिनका सरदार इन्द्र देखिन्छ । उनका आमाले वसुन्धरा व्रत बस्न स्वर्गमा पारिजात फूल नभई मत्र्यलोकमा खोज्न आएको कथा छ । वसुन्धरा व्रत स्वयं महायानी बौद्धहरूमा प्रचलित व्रत हो ।
खास त वसुन्धरा व्रतका लागि एक प्रकारको पहेँलो फूल चाहिन्छ, पारिजात फूल होइन । तर कथामा पारिजात फूलकै कथन छ । पारिजात फूल इन्द्रको नन्दन वनमा रहेको ७ अलौकिक वृक्षहरू मध्येको एक थियो ।
गोकुलमा इन्द्रको विरुद्ध विद्रोह मच्चाउने र गोबद्र्धन पर्वतको सहायताले गोकुलवासीहरूबाट इन्द्रको कोपभाजनबाट बचाउने कृष्णले आफ्ना प्रेमिका सत्यभामाका लागि पारिजात फूलको वृक्ष स्वर्गबाट मत्र्यलोकमा ल्याएको कथन हिन्दू ग्रन्थहरूमा पाइन्छ । यसरी आफ्ना आमाका लागि मत्र्यलोकमा फूल चोर्न आएका इन्द्रलाई यहाँका बासिन्दाले पक्री सार्वजनिक रूपमा बाँधेर राखेको भन्ने कथनलाई नियाल्दा तत्कालीन समयमा काठमाडौँमा बौद्ध आधिपत्य, त्यसमा पनि महायानी र वज्रायानीहरूको बाहुल्य रहेको स्पष्ट संकेत मिल्दछ ।
अर्को कुरा काठमाडौंको राजकीय कुमारी तलेजु भवानीकै प्रतीक मानिन्छ । तलेजु काठमाडौंमा आज भन्दा ७३८ वर्षअगाडि अयोध्याका राजा रामचन्द्रका वंशज मानिने हरिसिंहदेवले काठमाडौँ उपत्यका रूलंकामा लगी पूजा गरेर राखेको र रामचन्द्रले लंका विजय गरेपछि अयोध्यामा ल्याइएको कथन छ । मूल तलेजु भक्तपुरको हो, तर काठमााडौंका एक मल्ल राजाले त्यसको प्रतिमूर्ति बनाई त्यहाँको पूजारीलाई घुस ख्वाई त्यहाँको मन्त्र लोप गराई काठमाडौँमा नै आह्वान गरी तलेजुसँगै पासा खेली सरसल्लाह गरी राज्य सञ्चालन गरेको भनिन्छ ।
जयप्रकाश मल्लका रानीले तलेजुमा राजाले गुप्त मन्त्रणा गर्ने स्थलमा गई चियो गर्दा देवीले अव आइन्दा यसरी प्रकट नहुने शाक्यकुलकी कन्यामा कुमारीको रूपमा रहने भनेपछि शाक्यकुलकी कन्यालाई कुमारी बनाई पूज्ने प्रचलन चलेको कथन छ । यहाँनेर हिन्दू देवी बौद्ध शाक्यकुलकी कन्यामा रहने कुराले पनि वास्तविकतामा त्यसबेला समाजमा बौद्ध आधिपत्य रहेको कुराकै संकेत मिल्दछ । कतिपय हिन्दूहरूद्वारा लिखित वंशावलीले यस कुरामा शाक्यहरूलाई होचो बनाएर प्रस्तुत पनि गरेका छन् ।
माथि उल्लेखित तथ्यलाई काठमाडौं उपत्यकामा धार्मिक समिश्रणको उदाहरणका रूपमा पनि लिन नसकिने त होइन । तथ्यपरक आकलन गर्ने हो तत्कालीन नेपालमा धर्ममा सम्प्रदायवाद पनि थियो भने अर्कोतर्फ उपयोगिताबाद पनि थियो । कुनै विरामीका लागि डाक्टर मात्र उपयोगी सिद्ध नभई वैद्य पनि उपयोगी सिद्ध हुन सक्छ, कतिपय स्थितिमा धामीझाँक्री वा जान्ने वा माईंहरू पनि सहायक हुनसक्छ ।
जय प्रकाश मल्लले आफ्नो राज्य बचाउनका लागि मासु राखी होम गराउनुपर्ने पद्धति अपनाउनुपर्ने भएको र यहाँ रहेका वैदिक ब्राह्मणहरू उक्त पद्धतिको कार्य नगर्ने भएकाले नै तिरहुतिया मैथिल ब्राह्मणहरू झिकाएको भनेर भनिन्छ । यस प्रकारमा पनि कतिपय कुराहरू भएका होलान् । तर तत्कालीन नेपालमा राजा हिन्दू भए पनि सर्वसाधारणमा र हाल कुनै विषय विशेषज्ञ भने जस्तो त्यो बेलाका विषय विशेषज्ञ विशेषतः तन्त्र पद्धतिमा बौद्धहरूको आधिपत्य रहेको सहजै अनुमान गर्न सकिन्छ ।
समस्या के छ भने यस विषयमा हालसम्म ठोस अध्ययन भएको छैन । भाषा र लोकसाहित्यको आधारमा तथ्यहरूको अनुसन्धान गर्ने फिलोलोजीका दृष्टिकोणले यी कुराहरूको अध्ययन र अनुसन्धान हुन जरुरी छ ।
इन्द्रजात्राको आरम्भ इन्द्रध्वजाउत्थानबाट आरम्भ भएको मानिन्छ । इन्द्रध्वजा फहराउने लिङ्गोलाई नेपालभाषामा यःसिं भनिन्छ । यो प्रचलन भने शाह राजा रणबहादुर शाहले प्रारम्भ गराएको मानिन्छ । काभ्रे जिल्लाको नालाबाट यःसिँ ल्याएर हनुमानढोकामा ठड्याउने कार्यमा पनि मानन्धरहरूको गुठी नै परिचालन हुने गरेको छ । मानन्धरहरू पनि बौद्ध नेवार नै हुन् । त्यसै गरी इन्द्रदेवतालाई अग्लो टाँडो बनाई बाँधेर प्रदर्शन गर्ने कार्यमा अशोक विनायक गुठीका महर्जनहरू सम्मिलित हुन्छन् । वास्तवमा महर्जनहरूलाई किरातका सन्तान भनेर मानिएको छ । यसरी काठमाडौंका विभिन्न साँस्कृतिक परम्परामा जनस्तरमा बौद्ध र अन्य गैर हिन्दू नेवारहरूले एकातर्फ धार्मिक समिश्रणको आभास मिल्दछ भने अर्कोतर्फ बौद्ध नेवारहरूको आधिपत्यलाई पनि नकार्न मिल्दैन ।
यो प्रस्तुतिको आशय नेपालको संस्कृतिमा अन्तरनिहित कुराहरूलाई आधुनिक वैज्ञानिक नजरले पर्गेल्नु रहेको छ । यसमा हिन्दू (शैव, शाक्त) वा बौद्धबीचको आपसी सुसम्बन्ध र धार्मिक समिश्रणको सवालमा कुनै दखल पु¥याउने यसको आशय होइन ।
इन्द्रजात्राको इतिहासलाई हेर्ने हो भने यसमा प्राचीन कालदेखि आधुनिक कालसम्मका परम्पराहरू समिश्रित भएर रहेका छन् । यसमा इन्द्रचोकमा रहेको किरातहरूका राजा यलम्बरको प्रतीक मानिएको आकाश भैरवलाई पनि द्वादसीको दिन राती ल्याई प्रदर्शनमा राखिने चलन छ भने इन्द्रचोकमै वर्षेनी भजन चलाउने कार्यले पनि परम्परकै रूप लिइसकेको छ । ध्याम्पोमा अगाडि पट्टि भैरवको प्रतिकृति बनाई डुँडबाट जाँड झार्ने पनि एक विशिष्ट प्रचलन हो । यस्तो भैरवमा हनुमानढोकामा आँखीझ्यालभित्र बन्द राखिने श्वेत भैरब रणबहादुर शाहले स्थापना गरेको मानिन्छ ।
त्यसै गरी ऐरावत हात्ती को प्रदर्शन, मृतकहरूका नाममा दीपदान गरी नगरपरिक्रमा गर्ने, विभिन्न देवदेवीका नाच प्रदर्शन, दश अवतार प्रदर्शन आदिले इन्द्रजात्रामा सबै खालका संस्कृतिलाई प्रदर्शनमा ल्याउने गरिएको स्पष्ट हुन्छ । आधुनिक समयमा आएर आधुनिक शैलीकै साँस्कृतिक मेला वा फेयरको दृष्टिले पनि यसलाई हेरिन थालिएको छ । इन्द्रजात्राको प्रमुख आकर्षण रहेको कुमारीरथ यात्रा जयप्रकाश मल्लको पालामा शुरु भएको हो भने पहिले तल्लो टोल र माथिल्लो टोलमा मात्र रथ घुमाइने गरेकोमा राणाकालमा आएर नानिचायाः भनेर माथिल्लो टोलको तल्लो भेगमात्र समेटेर (किलागलबाट) रथ तान्ने प्रचलन राणाकालमा भयो । यसमा केही वर्ष यतादेखि नानीचायाका दिन महिलाहरूले मात्र रथ तान्ने प्रचलन पनि सुरु भएको छ ।
इन्द्रजात्राकै दिन काठमाडौंमा पृथ्वी नारायण शाहले विजय प्राप्त गरेपछि उनले नेवारहरूका नाइकेहरूले साँस्कृतिक रूपमा सम्झौता गरेको कथन पनि रहेको छ । यस अतिरिक्त इन्द्रजात्रामा कुमारीयात्रा राजकीय रूपमा सम्पन्न गरिने हुँदा जनताकाबीच रहेको धिमे, नायखिँ आदि बाजा नआउने र जनस्तरबाट एक किसिमले वहिष्कार गरिआएको बुझाइ रहेकोमा अहिले आएर ती बाजाहरू पनि सम्मिलित भएका छन् । यसले इन्द्रजात्रा पर्वको महत्वलाई बढाएको छ ।
Categorized in सम्पदा/संस्कृति