काठमाडौं । लामो समयदेखि युद्धग्रस्त इजरायल र हमासबीच गजामा युद्धविराम गर्ने सहमति भएको छ ।
युद्धविरामसँगै बन्धक रहेकाहरुको रिहाई हुने संभावना बढको छ । नेपालका विपिन जोशीको पनि रिहाई हुने सरकारले अपेक्षा गरेका छन ।
हमासको बन्धकमा रहेको जोशीको रिहाईको पहल गरिरहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाल सोमबार संसदीय समितिको बैठकमा विपिन जोशी जिवित रहेको र चाँडै नेपाल फर्कने बताएकी थिइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का हुन् विपिन । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको भदौमा इसराइल गएका थिए।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे । असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए ।
हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए । विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए ।
पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको उनीहरूले बताएका छन्।
युद्धको ४८ दिनपछि गजामा केही दिन युद्धविराम भएको थियो । त्यतिबेला एक सय भन्दा बढी इसराइली बन्धकहरू रिहा भएका थिए ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको र हमास र इसराइलबीच युद्धविरामको सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले बुधबार पत्रकार सम्मेलनमा दुई पक्षबीच युद्धविरामको सम्झौता भएको जानकारी दिएका छन्।
यो सँगै गजामा १५ महिनादेखि चलेको रक्तपात अन्त्य भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन ।
अब यो सम्झौता इसराइली पक्षबाट कार्यान्वयन हुनका लागि त्यहाँको मन्त्रिपरिषदले पारित गर्नुपर्नेछ। त्यसका लागि इसराइली पक्षसँग मध्यस्तकर्ताहरूले थप छलफल गरिरहेको भनेर समाचार संस्था एशोसियटेड प्रेस (एपी)ले लेखेको छ।
गजामा अझै एक सय जना विभिन्न देशका नागरिकहरू हमासको बन्धकमा रहेको बताइएको छ । इसराइल र हमासबीच पहिलो युद्धविराम सम्झौताको अवधि ६ हप्ताको हुनेछ ।
16 January 2025, Thursday
Categorized in अन्तर्राष्ट्रिय