काठमाडौं । निर्वाचन आयोगले शुक्रवार गगन थापा नेतृत्व नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई आधिकारिता दिएपछि बसेको पहिलो बैठकले ६ महत्वपूर्ण निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्णय सार्वजनिक गरेका थिए ।
निर्णयहरु यस प्रकार छनः
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रीय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३. विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५. नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।
६. यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको। सबैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।

कांग्रेस केन्द्रीय समिति हेर्न यहाँ क्लिक गर्नुहोस
संस्थापन पक्ष पार्टीको आधिकारिकताको लागि अदालत जाने
नेपाली कांग्रेसको विघटित केन्द्रीय समिति संस्थापन पक्षले पार्टीको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
शनिबार सानेपामा बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने गरी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णय दुराशयपूर्ण भएको आरोप लगाए । उनले भने, “निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरुद्ध संवैधानिक एवम् कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ। भोलि हामी यसको खिलाफमा सर्वोच्च अदालत जान्छौं ।”
उनका अनुसार विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्या नहेरी आयोगले एकलौटी निर्णय गरेको हो ।
उनले निर्वाचन आयोगले १४औँ महाधिवेशनबाट निर्वाचित पक्षलाई नसुनी निर्णय गरेको आरोप पनि लगाए ।
“हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पूरा गरिएन। नजिर, विधान र निर्वाचनसम्बन्धी व्यवस्था कुनैको पनि पालना भएन। अन्यायपूर्ण र दूषित मनशायबाट गरिएको निर्णय भएकाले सर्वोच्च अदालत नै अन्तिम सुनुवाइ गर्ने ठाउँ हो,” उनले भने ।
कांग्रेसले पहिले कानुनी लडाइँ लड्ने र आवश्यक परे राजनीतिक प्रतिरोधका कार्यक्रम तय गर्ने जनाएको छ ।
Categorized in राष्ट्रिय