काठमाडौं । निर्वाचन आयोग ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई केन्द्रमा राख्दै टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले आयोगले यस्तो अभियान सुरु गर्न लागेको हो ।
आयोगका अनुसार निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तथा मतदातालाई सचेत बनाउन एक मिनेट अवधिको सन्देशमूलक र संवादमूलक भिडियो तयार गरी आफ्नै सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ ।
सहभागीहरूले तयार पारेको भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्राप्त भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने तीन उत्कृष्ट भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।
भिडियोमा निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिता पालना, मतदाताको अधिकार र कर्तव्यलगायत विषय समेटिएको हुनुपर्नेछ ।
साथै, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने सन्देशसमेत समावेश गर्नुपर्नेछ। मौलिक अडियो र अभिनय भएका भिडियोहरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
एक व्यक्तिले एक विषयमा एक भिडियो मात्र पठाउन सक्नेछन भने दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर पनि भिडियो निर्माण गर्न सक्नेछन ।
प्राप्त सबै भिडियोमाथि आयोगको अधिकार रहने र आवश्यक परेमा आयोगले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्नेछ ।
तोकिएका शर्तहरू पूरा नगरेका तथा म्याद नाघी प्राप्त भिडियोहरू स्वीकार नगर्ने स्पष्ट पारिएको छ । उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको मूल्याङ्कनका आधारमा गरिनेछ ।
Categorized in प्रबिधि