काठमाडौं । स्वास्थ्य बीमा लिनको लागि अव आफू बसेको स्थानबाट नै लिन सकिने गरी स्वास्थ्य बीमा नियमावली संशोधन प्रस्ताव स्वीकृत गरिएको छ ।
आफू बसेकै स्थानमा प्रस्थान विन्दु कायम गरेर सुविधा लिन सक्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको सचिवालयले बताएको छ ।
मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद् बैठकले नियमावली संशोधन प्रस्ताव स्वीकृत गरेको हो ।
यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।
यसैगरी, संशोधनअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलको सचिवालयले बताएको छ ।
Categorized in स्वास्थ्य