काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथलाई सोमबार लगन चोक लगिने छ ।
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार पुराएको थियो ।
आज बेलुका ४ः३० बजे हनुमानढोकाबाट मच्छिन्द्रनाथलाई चिंकमुलग, जैशीदेवल हुँदै लगन चोक लगी राखिने छ र जीवित देवी कुमारीलाई पनि मच्छिन्द्रको दर्शन गराउन लगन लगिने छ ।
सेतो मच्छिन्द्रानथ रथ व्यवस्थापन समितिका संयोकज एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यका अनुसार आज दिउँसो सम्म हनुमानढोकामा रथलाई भक्तालु तथा दर्शनार्थीहरुको लागि राखिसकेपछि बेलुका लगन चोक रथ लगिने छ ।
चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पु¥याइएको थियो । रथ असनमा पु¥याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेका थिए ।
१७ औँ शताब्दीमा शुरु भएको रथ यात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ ।
वैशाख ३ मंगलवार रथ लगन टोलमा रहेको सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ र वैशाख ४ गते मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएपछि यो जात्रा समाप्त हुने समितिले जनाएको छ ।
रथयात्राको दर्शन गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने स्थानीयवासीको विश्वास छ ।
Categorized in सम्पदा/संस्कृति