काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज उपत्यकासहित देशका विभिन्न नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ ।
काठमाडौंका प्रसिद्ध नागपोखरीमा नागको पूजा गर्न सर्वसाधरणको भीड रहेको छ । आज घरघरका साथै सर्वसाधारण प्रसिद्ध मन्दिर, मठहरु,नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ ।
प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ ।
आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।
भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन रहेको छ ।
Categorized in समाज