२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आज इन्द्रजात्रा धुमधामसँग मनाईदै


प्रकाशित: सोमबार, ८ भाद्र २०७५, ०८ः१६ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको पराम्परागत जात्रा इन्द्रजात्रा (येँया पुन्हि) आज (सोमबार) उपत्यका लागायत नेवार बाहुल्य जिल्ला र विदेशमा पनि धुमधामसँग मनाईदैछ । 


वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा मनाईन लागिएको हो । 


काठमाडौ दरवार हनुमानढोकाको कालभैरव अगाडी गत शुक्रबार विहान साढे आठ बजेको शुभसाईतमा विधिवत रुपमा इन्द्र ध्वजा (यःसिं) ठड्याएसँगै यस बर्षको इन्द्रजात्रा शुरु भएको थियो । 


उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुरमा नेवारहरुले धुमधामसँग मानाउने गर्दछन भने उपत्यका बाहिरका नेवार बाहुल्य स्थानहरु दोलखा, धुलिखेल लगायतका स्थानमा पनि मनाईन्छ । 


उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलाई नेवार भाषामा यः सिं भनिन्छ । 


नेपाल भाषामा यःसिं भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ । उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन । 


इन्द्रजात्रा विदेशमा पनि नेवार समुदायहरुले हर्षोउल्लासका साथ मनाउने गरेको पाईन्छ । 


शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 


यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्एपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । 


आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा थियो । 


भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण सम्पन्न भएकाले त्यहीँ इन्द्रजात्राका कार्यक्रम गरिनेछ । तीन वर्षपछि यसपटक गद्दी बैठकमै इन्द्रजात्राको तयारी गरिएको गुठी संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारीले दिए । 


इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । 


इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात लडाउने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताएका छन । 


यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान विष्णु) को पूजा आरधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । 


श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । 


यस वर्ष आइतबार र सोमबार दुवै दिन सूर्याेदयकालमा चतुर्दशी तिथि भए पनि पूर्णिमा तिथि भने मङ्गलबार बिहानको सूर्योदयकालमा भएकाले सोमबार इन्द्रजात्रा मनाउने गरी निर्णय गरिएको समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex