२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आजबाट सुरु भयो नेपाल संवत् ११४६, बसन्तपुमा प्रधानमन्त्री कार्कीको सम्बोधन 


प्रकाशित: बुधवार, ५ कात्तिक २०८२, १२ः२९ बजे
- महानगरखबर

काठमाडौं । नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बत ११४६ आजबाट सुरु भएको छ । 


काठमाडौं उपत्यकाभरि विविध सांस्कृतिक कार्यक्रम र उत्सवका साथ नयाँ वर्षको स्वागत भइरहेको छ ।


राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन ८००) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको शुरुवात गरेका थिए । 

 


लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्बत लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भई पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रूपमा प्रचलनमा थियो । 


उनका अनुसार, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्बत हो। लिच्छविकालअघि शक सम्बत प्रचलनमा थियो । 


२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान थालिएको थियो । 

 


गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको र मौलिक सम्बतको शुरुवात गरेको योगदानको उच्च मूल्यांकन गर्दै २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।


त्यसपछि, २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए ।


नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा भीमेश्वरलगायत क्षेत्रमा विशेष रूपमा मनाइन्छ । 

 


कार्तिक कृष्ण औंसीका दिन पुराना बही खाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा अझै काठमाडौंमा जीवित छ ।


यसैविच प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् ११४६ को शुुभ अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित सभलाई सम्बोधन गरेकी छिन । 


प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनको वातावरण तयार पार्न सरकार दत्तचित्त भएर लागेको बताएकी छिन । 

 


उनले विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी भयरहित ढंगले चुनाव सम्पन्न गर्ने तयारी भइरहेको बताइन । 


“विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ,” उनले भनिन्, “प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनकाबाहक जेनजी समुदायसँग पनि निरन्तर सम्पर्कमा छौं । ”


प्रधानमन्त्री कार्कीले निर्वाचनलाई प्राथमिकतामा राखिएको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको होइन भन्ने स्पष्ट पारिन । 

 


उनले लोकतन्त्रलाई सुदृढ बनाउने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबैलाई आह्वान समेत गरिन ।


तस्वीरहरु बिज्जु श्रेष्ठ/महानगरखबर  

asteriskhubs
Home Page Bottom Second


maharjan complex