२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आजबाट ईन्द्रजात्रा शुरु, इन्द्रध्वज (लिङ्गो) ठड्याईयो


प्रकाशित: मंगलवार, २४ भाद्र २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाको प्रसिद्ध जात्रा इन्द्रजात्रा मंगलवारबाट औपचारिक रुपमा सुरु भएको छ । 


विहान ०९ः१७ बजेको शुभ साईतमा बसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (लिङ्गो) ठड््याएपछि यस बर्ष इन्द्र जात्राका कार्यक्रम विधिवत रुपमा शुरु भएको हो ।  


नेवाः समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेपछि लिङ्गो ठड््याउने चलन छ भने इन्द्रध्वज ठड्याउनु अघि किलागलका ज्यापु समुदायले परम्परागत तान्त्रिक देवी प्रस्तुत गरेका थिए ।  


लिङ्गो गुर्जुको पल्टनले साईतको तोप पड्काएको थियो । यस इन्द्रध्वज उत्थान अवलोकन गर्न महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्यहरु जीवनराम श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सभा सदस्यहरु राजेश शाक्य, डा. अजयक्रान्ति शाक्यको सहभागिता रहेको थियो ।


यस दिनलाई नेवार समुदायका मानिसहरुले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने गर्छन । आज बेलुका करीब ८ बजे गणेश र भैरवलाई कुमारी घरमा ल्याउने चलन छ । 


कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मुलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ । एकादशीका दिन सरकारतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिने चलन छ ।


इन्द्र जात्रामा लिङ्गो ठड््याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा लिङ्गो ठड््याउन थालिएको कथन छ । 


इन्द्रध्वजलाई उल्लास, विजय र उत्सवका रुपमा हेर्ने गरिन्छ । यस बर्ष भदौ २७ गते कुमारी रथ यात्रा शुरु गरेर बसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ । त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति बसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ ।


२८ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । यस अवधिमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु र दशअवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन ।


भदौ ३१ गते हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ०९ ः३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस बर्षका लािग जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछन । 


यस बर्षको इन्द्रजात्रा अबलोकनका लािग काठमाडौं महानगरले भगिनी सम्बन्ध भएका नगरबाट नगर प्रमुख र प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको छ । महानगरको निमन्त्रणा स्वीकार गरेर ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex