काठमाडौँ । नेपाली क्रिकेट टिमका २१ खेलाडीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले एकमुष्ठ रुपमा एक करोड २७ लाख ८७ हजार ७८२ रुपियाँ तलब पठाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशव विष्टले उक्त रकम शुक्रवार आएको बताए । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि सो रकम रोकिएको थियो ।
सदस्य सचिव विष्टका अनुसार राखेपको पहलबाट दुई बर्षदेखि रोकिएको तलव आएको हो ।
सन २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो ।
आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेष्णीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको छ ।
‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन । दुई वर्षको तलब एक मुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही रु आठ लाख ४० हजार पाउनेछन ।
त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ठ रु छ लाख पाउनेछन ।
यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन । उनीहरुले मासिक रु १५ हजारका दरले दुई वर्षको तलब रु तीन लाख पाउनेछन ।
राखेपका अनुसार टोली व्यवस्थापक रमन शिवाकोटी र मुख्य प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको पारिश्रमिक पाउनेछन । उहाँहरुको पारिश्रमिक खुलाइएको छैन ।
Categorized in मनोरन्जन