६ भाद्र २०८३, शनिबार
Header

अस्पतालमा आकस्मिकबाहेक सेवा ठप्प, बिरामीहरु मर्कामा


प्रकाशित: सोमवार, २३ असार २०८२, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । उपभोक्ता अदालतको पछिल्ला फैसलापछि सुरु भएको विरोधका क्रममा नेपाल चिकित्सक संघको आह्वानमा सोमबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प पारिएको छ । 


संघले चिकित्सकीय क्षेत्रको अधिकारमाथि हस्तक्षेप भएको भन्दै असार २० गतेदेखि चरणबद्ध आन्दोलन अघि बढाएको हो ।


नेपाल चिकित्सक संघका अनुसार उपभोक्ता अदालतका केही फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रमाथि प्रत्यक्ष हस्तक्षेप गरेका छन् ।

 
संघका महासचिव डा. सञ्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता फैसलाले चिकित्सकहरूलाई हतोत्साहित पार्नुका साथै असुरक्षित वातावरण सिर्जना गरेका छन् ।”


बिरामी मर्कामा, ओपीडी सेवा ठप्प


देशभरका स्वास्थ्य संस्थाहरूमा ओपीडी सेवा बन्द हुँदा बिहानै उपचारका लागि अस्पताल पुगेका सर्वसाधारण बिरामीहरू अलमलमा परेका छन् । 


बीर अस्पताललगायत प्रमुख स्वास्थ्य संस्थाहरूमा सेवाग्राहीहरू ओपीडी टिकट नपाएर फर्कन बाध्य भएका छन् । संघले ‘ओपीडी टिकट काउन्टर बन्द गरिएको’ सूचनासहित सेवा रोकेको हो ।


के छ विवादको जड ?


हालै उपभोक्ता अदालतले उपचारमा लापरवाही भएको ठहर गर्दै केही अस्पताल र चिकित्सकहरूमाथि ठूलो आर्थिक क्षतिपूर्ति तिराउने फैसला सुनाएको थियो । 


ओम अस्पतालमाथि ५० लाख ७० हजार, हिमाल अस्पताल र सम्बन्धित चिकित्सकमाथि १ करोड ४५ लाख र ग्राण्डी सिटी अस्पतालका चिकित्सकमाथि ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने निर्णय भएको संघको दाबी छ । यस्ता निर्णयले मेडिकल काउन्सिलको नियमन अधिकारमाथि असर परेको भन्दै संघ आक्रोशित बनेको हो । 


कालोपट्टीदेखि पूर्ण सेवा बन्दसम्मको आन्दोलन


संघले यसअघि असार १७ गतेदेखि नै कालोपट्टी बाँधेर काम गर्ने आह्वान गरेको थियो ।  


अहिले भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो। संघले आगामी दिनमा थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न सक्ने संकेत दिएको छ ।

 

फाइल तस्वीर

asteriskhubs
Home Page Bottom Second


maharjan complex