काठमाडौं । असनको ऐतिहासिक महत्वको सम्पदा बोकेको असन घडीघर (कोथुननी) बचाउ समितिले कानुनी संघर्ष सुरु गरेको छ ।
कोथुननीका १४ परिवारले कानुनी लडाईको सुरुवात गरेको कोथुनीनका सजिब बज्राचार्यले बताएका छन ।
जिल्ला अदलात काठमाडौंमा असन घडीघरका १४ परिवारले संयुक्त रुपमा ‘करारको यथावत परिपालना गरिपाउँ’ भनी फिराद पत्र दर्ता गराएको बज्राचार्यले जानकारी दिए ।
गुठी संस्थाले असन घडीघरका परिवारसँग भएको करारको एकपक्षीय उल्लघंन गरी सरोकारवालाहरुलाई कुनै जानकारी नदिई एक बहुउद्देश्यीय सहकारीलाई ‘विजनेश कम्पलेक्स’ बनाउने सम्झौता गरेपछि कानुनी र सडक संघर्ष सँगै अघि बढाएको बज्राचार्यको भनाई छ ।
जिल्ला अदालतमा दर्ता गराएको फिराद पत्रमा ‘इन्साफ दिलाई पाउँ’ भनी जाहेर गरेको सो निवेदनमा भनिएको छ, ‘ का.जि.का.म.पा वडा २५ (साविक का.जि.का.म.पा २७ )को किता नं. १७६७ को क्षेत्रफल ०–८–०–३ ( आठ आना तीन दाम) जग्गामा हामी निवेदकहरुको पुर्खाले घर बनाई भु–बहाल बुझाई सन्तान दरसन्तान बस्न पाउने गरी बसोबासा गरि आएका छौ । जुन कुरा फिल्डमा समेत उल्लेख भएको छ । वि.स. १८८५ मा उक्त घर भत्किदा तत्कालिन तालुकदारसमक्ष हाम्रा पुर्खाले पुननिर्माणको अनुरोध गर्दा ‘दायित्व पनि तपाईहरुकै हो निर्माण गर्नुहोस् भनेकोले’ निर्माण गरेका थिए । नापीबाट नापनक्सा हुँदा पनि उक्त जग्गा श्री ५ को वायुदेवता गुठी जनाई नाप नक्सा भएको र सोही बमोजिम हामीले भु–बाहल बुझाई सन्तन दरसन्तान बस्न पाउने गरी आएको व्यहोरा फिल्डबुकमा समेत उल्लेख भएको छ ।’
सो निवदेनमा सो घर ऐतिहास सम्पदा बोकेको घर ५०० बर्ष पुरानो भएको उल्लेख गरिएको छ र यस घरको लागि १४ परिवारको पुर्खाहरु देखि उनीहरुको सन्तान दरसन्ताने अतुलनीय भूमिका उल्लेख गरेको जनाएको छ ।
त्यसैगरी, गुठी संस्थासँग भएको सम्झौता अनुसार १४ परिवारले संस्थानसँग भएको सम्भ्mौता अनुसार नै भाडा तिर्दै आएको उल्लेख गरेको छ ।
बज्राचार्यले फिराद पत्रमा गुठी संस्थान शाखा कार्यलय कालमोचन काठमाडौ, गुठी संस्थान केन्द्रिय कार्यलय त्रिपुरेश्वर र गुठी संस्थान सञ्चालक समिति त्रिपुरेश्वरलाई प्रतिवादी बनाएको जानकारी दिएको छ ।
कोथुननी बचाउ समिति, सरोकारवाला, स्थानीयहरुले असन घडीघरविरुद्ध हुने कुनै पनि षडयन्त्रको प्रतिवाद गर्ने भन्दै विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
Categorized in सम्पदा/संस्कृति