काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले असनमा गुठी विधेयक जलाउँदै विधेयक फिर्ता नलिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।
आईतबार गुठी विधेयकको विरोधमा उत्रेका प्रदर्शनकारीहरु माथि भएको प्रहरी दमनको विरोधमा आयोजित सभामा देशभक्त जनगणान्त्रिक राष्ट्रिय मोर्चाका अध्यक्ष सिपी गजुरेलसहित सभागीहरुले विधयेक जलाएर विरोध जनाएका थिए ।
अध्यक्ष गजुरेलले ओली सरकारले गुठी विधेयक ल्याएर उपत्यकावासीको आत्मसम्मानमा चोट पुराएको बताउँदै सरकारको यस कदमको घोर भत्र्सना गरे ।

उनले गुठीमाथिको सरकारको निर्लज्ज आक्रमणको सर्वत्र विरोध गरिनु पर्दछ र कुनै हालतमा पनि विधेयक पारित हुन नदिनु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष पवनमान श्रेष्ठले नेवाः राज्य आएमात्र नेवार समुदायको पहिचान स्थापित हुने बताउँदै सरकार संघीयता विरुद्ध लागेको बताएका छन ।
उनले विधेयकको कडा शब्दमा विरोध गर्दै विधेयक फिर्ता नलिए मोर्चाले आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
मोर्चाका जिल्ला अध्यक्ष नमस्ते सायमीले प्रहरी दमनको विरोध गर्दै सरकार गुठी सम्पदाहरुलाई मासेर भुमाफियाहरुलाई पक्षपोषण गर्न खोजिरहेको आरोप लगाएका छन ।
सभा अघि असनबाट सुरु भएको जुलुस भोटाहिटी, रत्नपार्क, सहिदगेट, रभद्रकाली, न्यूरोड, इन्द्रचोक हुँदै पुनः असनमा गएर सभामा परिणत भएको थियो ।
Categorized in राष्ट्रिय