१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अर्वुद रोग विजेताहरुको भेला हुने 


प्रकाशित: बिहिबार, ३१ साउन २०७५, ०८ः३६ बजे  
- राजेश बज्राचार्य

ललितपुर । अर्वुद (क्यान्सर) रोग लाग्नु नै मृत्यु नजिक पुग्नु हो भन्ने भ्रम चिर्न विभिन्न खालका क्यान्सर रोग लागेर पनि पूर्ण रुपमा निको भएका अर्वुद रोग विजेताहरुको भेला आगामी शुक्रवार हुने भएको छ ।


नेपाल क्यान्सर अस्पतालले बधुवार पत्रकार सम्मेलन गरेर आगामी शुक्रबार ( भाद्र १ गते ) अर्वुद रोग बिजेताहरुको भेला हुने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा भेलाको उद्धेश्य र क्यान्सर रोगको नेपालमै उपचार सम्भव रहेको तथ्यबारे जानकारी दिने रहेको आयोजकले जनाएको छ । 


नेपाल क्यान्सर सपोर्ट ग्रुको आयोजनामा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको सभाहलमा शुक्रवार बिहान ११ बजे हुने सो भेलाबारे जानकारी दिंदैं कार्यक्रम संयोजक   स्वरुपा श्रेष्ठले वरिष्ठ सर्जन उपेन्द्र देवकोटाको स्वर्गारोहणपछि क्यान्सर विरामीहरुको मनोबल घटेको अवस्थालाई समेत ध्यानमा राखेर क्यान्सर रोगलाई जितेर सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरुको भेला गर्न लागेको बताए । 


उपचाररत विरामीहरुको सरल जीवन यापनमा आवश्यक आत्मबल तथा परामर्श सेवा उपलब्ध गराउन शुक्रवार हुने सो भेलामा क्यान्सर रोगलाई पार गरिसकेकाहरुको अनुभव साटासाटसँगै किमोथेरापी, रेडियोथरापी सम्बन्धित विशेषज्ञहरु लगायत मनोचिकित्सक, डाइटिसियनहरुसँग पनि अन्तरक्रिया गराइने बताईएको छ ।


नेपालमा देखिएका क्यान्सर रोगीहरुको संख्यालाई समयमै पहिचान र उपचार गर्न सकिए ३५ प्रतिशत सम्म न्यूनीकरण गर्न सकिने बताउँदै संयोजक श्रेष्ठले क्यान्सर सपोर्ट ग्रुपले त्यसकालागि हालसम्म गरिएका गतिविधीहरुबारे पनि जानकारी गराएका थिए ।


पत्रकार सम्मेलनमा क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष दिलिप भट्टराईले ९ वर्ष अगाडी स्तन क्यान्सर शरीरको अन्यत्र भागमा फैलिएको आफ्नै श्रीमती डा. सुदिप श्रेष्ठका कारण नेपालमै भएको उपचारले हालसम्म पनि सामान्य जीवनयापन गरिरहेको बताए ।


विरामीको आत्मबल उच्च राख्न परिवारको सकारात्मक भूमिका र उचित उपचारको व्यवस्थाले अन्तिम चरणमा भनिएको अवस्थालाई पार गरेर सामान्य जीवन बिताउन सम्भव छ भन्ने सन्देश दिनकालागि स्वयं क्यान्सरलाई भोगेका अन्य व्यक्तित्वहरुले पनि आफै अगाडी आउन आवश्यक रहेकोमा उनले जोड दिए । विकाससँगै विश्वभर क्यान्सर रोगको बृद्धि भएको तथ्य अनुसार एसियाली मूलुकले क्यान्सर रोग निवारण र रोकथामकालागि विशेष पहल गरेको उदाहरण पेश गर्दै उनले भने, “नेपालमा भने राज्यस्तरमा अझै पनि राष्ट्रिय क्यान्सर रेजिष्ट्री व्यवस्थित भएको छैन, अरबौं राजश्व सुर्तीजन्य पदार्थबाट उठिरहेपनि यसको प्रयोग दुरुत्साहित गर्न सजायका नियमहरु समेत ल्याउन सकेका छैनन ।” संस्थाले गर्दै आएका प्रयासले मात्र अपुग देखिएको सन्दर्भमा उनले संचारकर्मीहरुले राज्यलाई झकझक्याउन तथा नेपाली जनताको गुणस्तरीय उपचारमा पहुँच सम्भव भएको कुरा स्थापित गर्न सहयोगको आह्वान गरे ।  


कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष एवं अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले विदेशमा उपचारको प्रभावबारे गलत परिचर्चा, अन्तिम अवस्थामा ल्याइएको विरामीको निधनलाई अस्पतालकै असफलता देखाउने र नेपालकै सुविधा अनि चिकित्सकको क्षमतामा शंका बढी गर्ने प्रवृतिले नेपालमा हुने उत्कृष्ट उपचारको सम्भावनालाई सिमित गराइरहेको उदाहरण पेश गरे । 


सामाजिक रुपमा क्यान्सर भएको विरामीलाई थाहा नदिन विरामीका परिवारको दबाव पनि नकारात्मक रहेको बताउँदै उनले रोगकाबारे जानकार विरामीले उपचारका क्रममा बढी सहयोग पु¥याएको उदाहरण दिए । क्यान्सरको उपचारमा विशेषज्ञहरुको ठूलो समूह र सामूहिकता आवश्यक रहे जस्तै परिवार र समाजको पनि भूमिकामा जोड दिंदै हालसम्म पनि हाम्रो समाजमा व्याप्त गलत र नकारात्मक सोचलाई बदल्न सपोर्ट गू्रप सक्रिय रहेको जनाए ।

   
कार्यक्रममा उपस्थित वरिष्ठ रेडियो अन्कोलोजिष्ट डा. गेशुप विशुन्खा, मेडिकल अन्कोलोजिष्ट डा. कपेन्द्र अमात्य, डा. मुरारी लगायतले संचारकर्मीहरुसँग अन्तरक्रिया गर्दै नेपालमा क्यान्सरको अवस्था, यसबारे फैलिएका भ्रम र निवारणका उपायबारे थप जानकारी प्रदान गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex