काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व फुटबलको सर्वोच्च सम्मान आफ्नो नाममा लेखाएको छ ।
आइतबार राति भएको रोमाञ्चक फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै १६ वर्षपछि पुनः विश्व च्याम्पियन बन्न सफल भयो ।
सन २०१० मा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा हराएर पहिलो पटक विश्वकप जितेको स्पेनले यसपटक पनि अतिरिक्त समयमै इतिहास दोहोर्यायो। खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई उपाधि दिलाए ।
उनले अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई छक्याउँदै गरेको गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो ।
३९ वर्षीय लिओनेल मेस्सीका लागि भने यो फाइनल निराशाजनक रह्यो। अर्जेन्टिनाले पहिलो हाफमा लक्ष्यतर्फ एउटा पनि प्रहार गर्न सकेन भने मेस्सी पनि स्पेनको कडा रक्षापंक्तिबीच प्रभाव जमाउन असफल रहे ।
अतिरिक्त समयमा उनले गरेको एउटा प्रहार पनि स्पेनका डिफेन्डरले रोकेका थिए ।
खेलको क्रममा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।
त्यसपछि स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै अन्ततः उपाधि जित्न सफल भयो ।
स्पेनले प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै केवल एक गोल मात्र बेहोरेको थियो। टोलीले क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो भने मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि सुखद बन्न सकेन ।
२०३० विश्वकप छ देश र तीन महादेशमा
यसैबीच, फिफाले २०३० को विश्वकप ऐतिहासिक ढाँचामा आयोजना गर्ने तयारी गरेको छ ।
प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन् भने विश्वकपको १०० औँ वार्षिकोत्सवका अवसरमा उद्घाटन चरणका तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ ।
फिफाको प्रस्तावित तालिकाअनुसार जुन ८ र ९ मा दक्षिण अमेरिकामा शतवार्षिकी खेलहरू आयोजना हुनेछन । त्यसपछि जुन १३ र १४ देखि मुख्य प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोमा सुरु हुनेछ। फाइनल जुलाई २१ मा हुने अपेक्षा गरिएको छ ।
२०३० को विश्वकप छ देश र तीन महादेशमा आयोजना हुने इतिहासकै पहिलो पुरुष विश्वकप हुनेछ । आयोजक राष्ट्रका रूपमा स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले स्वतः प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन भने बाँकी ४२ टोली महादेशीय छनोटमार्फत तय हुनेछन ।
हाल प्रतियोगितामा ४८ टोली सहभागी हुने व्यवस्था कायम रहे पनि फिफाले भविष्यमा ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ ।
Categorized in मनोरन्जन