काठमाडौ । काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारीसँगै अरनिको राजमार्गको सडक छेउका संरचनाहरु हटाउन सुरु गरेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको हो ।
सोमबारदेखि बनेपा नगरपालिका–१४ साँगा भञ्ज्याङबाट सडक दायाँबायाँका घरटहरा तथा अन्य संरचना हटाउन शुरु गरेकोे सडक कार्यलय भक्तपुरले जनाएको छ ।
साँगादेखि धुलिखेलसम्मका १५६ घरटहरा हटाइने जनाइएको छ । मङ्गलबार ४५ घरटहरा, इलाका वन कार्यालयको भवनसहितका संरचना भत्काइएको छ ।
बुधवार जनागालदेखि बनेपासम्मको १० घरटहरा, इलाका प्रहरी कार्यालय बनेपाको पर्खालसहितका संरचना भत्काइएको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले बताए ।
धुलिखेल नगरपालिकाका वडा नं ३, ४ र ६ मा ३१ घरटहरा भत्काइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
विसं २०३१ पहिले बनेका ५६ घरको मुआब्जा दिएर भत्काइने सडक विभागले बताएको छ । राजमार्गमा २५ मिटर अर्थात ८२ फिट कायम हुने तथा बनेपा बजारको हकमा ७५ फिट मात्रै कायम गरिएको छ ।
Categorized in समाज