काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा हरेक मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका छन ।
उनले यसका लागि कार्यकारी आदेश ल्याउने तयारीमा रहेको बताएका छन ।
अहिले अमेरिकामा संघीय स्तरमा मतदाता परिचयपत्र अनिवार्य छैन। निर्वाचन व्यवस्थापन राज्य सरकारहरूको अधिकारमा पर्छ ।
त्यसैले कतिपय राज्यमा मत दिन परिचयपत्र देखाउनुपर्ने हुन्छ भने कतिपयमा चाहिँ यस्तो आवश्यकता छैन ।
ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भने, ‘मतदाता परिचयपत्र हरेक मतमा हुनैपर्छ। कुनै अपवाद छैन ।’
हुलाकमार्फत मतदानमा रोक
ट्रम्पले गम्भीर बिरामी र विदेशमा खटिएका सेनाबाहेक अन्यका लागि हुलाकमार्फत मतदान (मेल–इन भोट) रोक्ने निर्णय पनि घोषणा गरेका छन ।
उनले विगतदेखि नै अमेरिकी निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन ।
२०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको हारलाई उनले ‘व्यापक धाँधलीको परिणाम’ भन्दै आएका छन ।
संवैधानिक अधिकारको प्रश्न
ट्रम्पले विद्युतीय भोटिङ मेसिन हटाएर कागजी मतपत्र र हातैले गणना गर्ने प्रणाली लागू गर्नुपर्ने माग पनि अघि सारेका छन ।
तर, अमेरिकी संविधानअनुसार संघीय सरकार वा राष्ट्रपति स्वयंले राज्यस्तरको निर्वाचन नियम बदल्ने अधिकार राख्दैनन ।
यस कारण ट्रम्पको कार्यकारी आदेशले कति प्रभाव पार्छ भन्ने विषयमा अनिश्चितता रहेको बताइँदैछ ।
Categorized in अन्तर्राष्ट्रिय