काठमाडौं । सुरक्षा जोखिम बढ़्दै गएपछि अमेरिकाले ‘संवेदनशील’ मानिएका १९ देशका नागरिकलाई प्रदान गरिएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) ले सबै ग्रीन कार्डको पूर्ण परीक्षण प्रक्रिया सुरु गरेको हो।
बुधबार वाशिङ्टन डिसीमा नेसनल गार्डका सुरक्षाकर्मीमाथि गोली चलेपछि राष्ट्रपति ट्रम्पले तत्काल कडा सुरक्षा छानबिन गर्न आदेश दिएका थिए ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घटना पछि प्रशासनले आप्रवासन नीतिमा थप कड़ापन अपनाएको हो ।
युएससीआईएसका निर्देशक जो एड्लोले राष्ट्रपतिको निर्देशअनुसार १९ देशका सबै नागरिकको ग्रीन कार्ड पुनः परीक्षण गरिने बताएका छन् । यी देशहरूलाई यस वर्ष जारी राष्ट्रपतिको घोषणामा ‘सुरक्षाका दृष्टिले संवेदनशील’ सूचीमा राखिएको छ ।
सूचीमा रहेका देशहरू—अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला—का नागरिकको कागजात कडाइका साथ स्क्रिनिङ गरिनेछ ।
वाशिङ्टन गोलीकाण्डका आरोपी रहमानउल्लाह लाकानवाल अफगान नागरिक भएको तथ्य सार्वजनिक भएपछि प्रशासनले आप्रवासन प्रक्रिया झनै कडाइ गरेको हो ।
सन् २०२१ मा ‘अपरेशन एलाइज वेलकम’ कार्यक्रमअन्तर्गत अमेरिका प्रवेश गरेका लाकानवाल पहिले अमेरिकी सरकार र सीआईएसँग काम गरिसकेका व्यक्ति भएको बताइएको छ ।
ट्रम्प प्रशासनले उनको आश्रय निवेदन अप्रिल २०२५ मा स्वीकृत गरेको सिएनएनले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २०२१ मा अफगानिस्तानबाट सेनाको फिर्तापछि करिब १ लाख ९० हजारभन्दा बढी अफगान नागरिक अमेरिका पुनर्वास भएका छन ।
Categorized in अन्तर्राष्ट्रिय