काठमाडौं । अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ ।
चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको हो । डिपोर्ट गरिएका मध्ये तीन जना महिला रहेका छन ।
नेपाल फर्काइएपछि उनीहरूलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको छ । ब्युरोका प्रमुख तथा एसएसपी कृष्ण पंगेनीका अनुसार फर्काइएकामध्ये दुई जना भिजिट भिसामा अमेरिका पुगेका थिए भने अन्य अधिकांश व्यक्ति ‘तल्लो बाटो’ प्रयोग गरी अमेरिका पुगेका थिए ।
उनका अनुसार तल्लो बाटो हुँदै अमेरिका पुग्न कम्तीमा २० लाख रुपैयाँदेखि अधिकतम एक करोड रुपैयाँसम्म खर्च भएको पाइएको छ ।
फर्काइएकामध्ये एक जना व्यक्ति भने करिब ३० वर्षसम्म अमेरिका बसेको तथ्यसमेत खुलेको छ ।
प्रहरीका अनुसार केही नेपाली नागरिकलाई डिपोर्टअघि अमेरिकामा सात महिनासम्म हिरासतमा राखिएको थियो ।
पछिल्लो सात वर्षमा अमेरिकाबाट कुल ६६६ जना नेपाली नागरिक डिपोर्ट भइसकेका छन ।
तीमध्ये अधिकांश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन्। ट्रम्प प्रशासनपछि मात्रै ४०९ जना पुरुष र ३० जना महिला डिपोर्ट भएको तथ्यांक रहेको ब्युरोले जनाएको छ ।
Categorized in राष्ट्रिय