२ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अब हरेक शनिबार असनमा सवारी प्रवेश निषेध 


प्रकाशित: विहिवार, २६ चैत २०८२, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरी सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि प्रवद्र्धन गर्ने निर्णय गरिएको छ । 


काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार वैशाख ५ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई वडाध्यक्ष योगेशकुमार खड्गी, प्रशासन विभाग प्रमुख महेश काप्ले,  लगायत सरोकारवाला निकाय, स्थानीय संघसंस्था तथा समुदायका प्रतिनिधिहरू सहभागी थिए ।

 


बैठकमा कार्यवाहक प्रमुख डंगोलले असन क्षेत्र धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भएकाले यसको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको बताइन । 
उनले स्थानीय अपनत्व, वडा कार्यालयको नेतृत्व र सरोकारवालाको सहकार्यमा कार्यक्रमलाई दिगो बनाउने लक्ष्य रहेको उल्लेख गरिन । 


वडाध्यक्ष खड्गीका अनुसार स्थानीय संघसंस्था, क्लव तथा समुदायको सहकार्यमा अघि बढाइएको ‘भेहिकल फ्री असन’ कार्यक्रमले असन बजारको मौलिकता संरक्षणसँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 


कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका–२७ को कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । 


उक्त क्षेत्रमा जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिने जनाइएको छ ।


छलफलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुङ तथा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात व्यवस्थापन, पैदलमार्ग सञ्चालन तथा सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाइने बताएका छन् । 


महानगरपालिकाले यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्दै स्थानीय रैथाने व्यापार व्यवसाय प्रवद्र्धन, मौलिक सांस्कृतिक कार्यक्रम सञ्चालन तथा सामाजिक गतिविधि विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex