काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।
आन्तरिक राजस्व विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्यान कार्डलगायतका कर सम्बन्धी सेवाहरू अब स्थानीय तहमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको जनाएको हो ।
यसअघि प्यान कार्ड करदाता सेवा कार्यालयहरूबाट मात्रै वितरण हुँदै आएको थियो ।
तर ती कार्यालयहरू हाल खारेज गरिएका कारण नयाँ व्यवस्था अनुसार स्थानीय तहबाट सेवा सञ्चालन गरिने भएको हो ।
विभागले भनेको छ, “स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने भएकाले, तत्कालका लागि ती सेवा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।”
त्यस्तै, कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा भने यथावत् रूपमा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार करदाताको पहुँचमा सुधार ल्याउने र सेवालाई प्रविधिमैत्री तथा प्रभावकारी बनाउँदै लैजाने नीति अवलम्बन गरिएको छ ।
Categorized in वडा