काठमाडौं । अब नेपाली नागरिकले डिम्याट खाता खोल्न ‘राष्ट्रिय परिचय पत्र’ अनिवार्य हुने भएको छ ।
धितोपत्र बोर्डले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त व्यवस्था लागू गरिने स्पष्ट पारेको हो ।
नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा अब नागरिकता वा अन्य कागजातभन्दा पहिले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था हुनेछ ।
धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई प्राविधिक रूपमा तयार हुन निर्देशन दिएको छ ।
बोर्डका अनुसार, राष्ट्रिय परिचयपत्र नम्बरमार्फत एक व्यक्तिको एकमात्र खाताको स्पष्ट विवरण राख्न सकिने छ, जसले कारोबारमा पारदर्शिता र विश्वसनीयता बढाउने विश्वास लिइएको छ ।
बोर्डले ग्राहक पहिचान प्रणालीलाई मजबुत बनाउन र भविष्यमा डिजिटल प्रणालीलाई एकीकृत गर्न राष्ट्रिय परिचय पत्रलाई आधार बनाउने नीति लिएको जनाएको छ ।
धितोपत्र बजारमा दर्ता, कारोबार र लगानीकर्ताको व्यवस्थापनमा समेत यो कदमले महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ ।
Categorized in राष्ट्रिय