काठमाडौं । अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै स्तन क्यान्सरको वंशानुगत परीक्षण हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक वंशानुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको हो । हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन ।
अव यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेलगत्तै वंशानुगत परीक्षण सम्भव भएको हो ।
प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशानुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले बताए ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ ।
प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमुना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमुना परीक्षण नियमित थप गर्ने भएको छ ।
भारतमा स्तन क्यान्सरको वंशानुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ तर प्रयोगशालाले भने ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशानुगत परीक्षण गराउँदै आएका छ्न ।
Categorized in स्वास्थ्य